काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक सी डिभिजन लिग बिहीबारदेखि शुरु हुँदैछ। उपत्यकाका ९ र उपत्यकाबाहिरका ५ गरी लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लबले सहभागिता जनाउँदैछन्। आज हुने उद्घाटन खेलमा सुर्खेतको आरसी ३२ एफसी र ललितपुरको खालीबारी युवा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
एन्फाले सी डिभिजन लिग करिब तीन महिना चल्ने जनाएको छ। सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ९१ खेल हुनेछन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। त्यस्तै परेमा च्यासल र दशरथ रंगशालामा पनि खेलहरु खेलाउने सकिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
यसैगरी एन्फाले पुरस्कार रकम पनि सार्वजनिक गरेको छ। जसअनुसार लिग विजेताले नगद १० लाख र उपविजेताले ७ लाख पाउनेछन्। यस्तै तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। साथै ‘फेयर प्ले’ हुने टोलीले ५० हजार पाउनेछ।
अन्य विधामा सर्वोकृष्ट खेलाडीलाई ५० हजार दिइनेछ भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार प्राप्त गर्नेछन्। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले ५ हजार पाउनेछन्।
एन्फाको अनुसार लिगको कूल बजेट ३ करोड, ५५ लाख २८ हजार ३ सय ५८ रुपियाँ रहेको छ। लिगको खेल हेर्नका लागि साधारणतर्फ १ सय र भीआइपीतर्फ २ सय टिकट दर कायम गरिएको छ। टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा बिक्री गरिने पनि आयोजकले जनाएको छ।
लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, सोसियल वेलफेर स्पोर्ट्स सेन्टर क्लब, सामाजिक युथ क्लब, महाविर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन र बागमती युथ क्लबले खेल्नेछन्।
प्रतियोगितामा पहिलोपटक उपत्यका बाहिरका ५ टिमले सहभागिता जनाउन लागेको एन्फाले जनाएको छ। जसमा बागमती युथ क्लब (सर्लाही), गोलबजार युथ क्लब (सिराहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्ट्स क्लब (बाजुरा) र स्पोर्ट्स एकेडेमी साँगा (काभ्रे) छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।