काठमाडौँ।
नेपाल मेडिसिटी अस्पतालले मस्तिष्क आघात भएका बिरामी अस्पतालमा पुगे लगत्तै तत्कालदेखि उपचार गर्नेगरि छिट्टै नै सुविधा सम्पन्न र अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको छ ।
अस्पतालले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । सो सेन्टर मार्फत बिरामीलाई मस्तिष्क आघात भएको ४ देखि ५ घण्टाभित्र अस्पताल ल्याएमा तत्काल उपचार सेवा दिएर बचाउन सकिने अस्पतालको दाबी छ ।
नेपालकै पहिलो महिला न्युरो इन्र्टभेन्सनल न्यूरोसर्जन डा.प्रसन्ना कार्कीका अनुसार मस्तिष्क आघात हुने बित्तिकै बिरामीलाई ४ देखि ५ घण्टाभित्र अस्पतालमा ल्याउन सके केही घण्टा रगत पातलो बनाउने औषधि दिएर राख्न मिल्ने र १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ ।
मस्तिष्क आघात हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जाने र उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर पक्षघात भई आजीवन अपाङगता हुने सम्भावना रहने डा.कार्कीले बताइन् ।
नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट मस्तिष्क आघात, ट्युमरदेखि मेरुदण्डको सर्जरी गरी सबै किसिमको न्युरो सर्जरी सम्बन्धी रोगको उपचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
हालसम्म अस्पतालले दुई हजारभन्दा बढी मस्तिष्कको शल्यक्रिया गरिसकेको छ, जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।
अस्पतालले सबै किसिमका नशा सम्बन्धी समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको र उपचारका लागि न्युरो सर्जन, न्युरो इन्टर्रभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्युरो रेडियोलोजिस्ट, न्युरो क्रिटिकल केयर, न्युरो एनेस्थेटिस्ट तथा न्युरो रिहाबिलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहेको पनि उल्लेख गरेको छ ।
अस्पतालको न्यूरोसर्जरी विभागले नशासम्वन्धि बिरामीलाई ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सेवा दिइरहेको पनि जनाएको छ ।
अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा मस्तिष्क नखोली दूरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको र यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने अस्पतालको दाबी छ ।
गत वर्षबाट सुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्युरो भास्कुलर समस्या भएका १५० भन्दा बढी बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
न्युरो इन्र्टभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्ने उल्लेख गर्दै न्युरोसर्जरी विभाग प्रमुख प्रा.डा.गोपाल रमण शर्माले इन्र्टभेन्सन पद्धतिबाटबाट गरेको शल्यक्रियाको नतिजा सन्तोषजनक रहेको बताए ।
२८ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्युरो सर्जरीको अनुभव भएका प्रा.डा.शर्माले हालसम्म २० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका छन् ।
न्युरो आइसियुमा १२ वटा बेड रहेको जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा छ भने एक बेडमा एक नर्स र २४ सै घण्टा न्युरो एनेस्थेटिस रहने पनि अस्पतालले जनाएको छ ।
न्यूरोलोजी विभागका प्रमुख डा.बाबुराम पोखरेलका अनुसार विश्वभर मस्तिष्क आघातका विरामीको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।
त्यस्तै अस्पतालमा न्युरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा.मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पु¥याउँदै आएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।