राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो।
४० हजार जनसङ्ख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन्। तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्प सेटबाट खेती सिँचाइ गर्दै आएका थिए। यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो।
कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए। गएको असार ७ गते सम्पन्न १० औँ गाउँ सभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल पचास प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए।
यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतप्रति किसानको आकर्षणसमेत बढ्ने छ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।