डोल्पा।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन् ।
घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरु आगलागीमा परेका थिए । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडाँै लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले अस्पताल लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जगदीशचन्द्र नेपालीले जानकरी दिए । सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण डोल्पा आउन नसकेको उनले बताए । डोल्पामै गत मङ्गलबार ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।