भरतपुर।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गँैडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जङ्गल वल्र्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।
रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताए । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।
“निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ”, तिवारीले भने, “नयाँ वर्षको दिन दुःखद् घटना भयो ।” मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।