
काठमाडौँ।
महिलाको निम्ति महिला मञ्च नेपाल (वुफोवन) ले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितको लागि सांस्कृतिक अभियान सुरु गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार संथापक अध्यक्ष डा.रेणु भण्डारीले महिला मञ्च नेपाल’को युट्युब च्यानलको उद्घाटन गरेर सो अभियानको औपचारिक सुरुवात गरेकी हुन्।
अभियानको सुरुवात प्रत्यक्ष लोक तथा दोहोरी गीतबाट सुरु गरिएको र अन्य भाषा र भाकामा समेत गीतहरु प्रस्तुत गर्दै जाने संस्थाले जानकारी दिएको छ।
गीतका विषयहरु मानव अधिकार, महिला अधिकार, असमानता, सबै प्रकारका विभेद, श्रम शोषण तथा अधिकार, स्वास्थ्य, शिक्षालगायत हुनेछन् । आजैबाट गीतहरु सार्वजनिक थालिएको र हरेक हप्ता दुईवटा गीतहरु महिलाका निम्ति महिला मञ्च नेपाल’को युट्युब च्यानल वुफोवन ((WOFOWON) मा गीतहरु सार्वजनिक हुने बताइएको छ।
मनोरञ्जन क्षेत्रमा कार्यरत कलाकारहरु साथै यसै संस्थामा आबद्ध कलाकारका सिर्जना र स्वरमार्फत् मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न र श्रमिकको मान्यता पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण र समाजले मनोरञ्जन क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्न यो अभियानलाई निरन्तरता दिएका संस्थाले जनाएको छ।
मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेन्ट, खाजाघर तथा स्पा मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको स्वंम नेतृत्वमा २०६४ चैत्र ६ गते यो संस्था दर्ता भएको हो।
संस्थाले मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवर्द्धन तथा सुनिश्चिताको लागि महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ काम गर्दै आइरहेको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।