महोत्तरी।
महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत वितरण गरेको छ । शनिबार संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पीडितहरूलाई राहत सामाग्री वितरण तथा सामूहिक खानाको कार्यक्रम गरिएको हो ।
सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानविय सहयोग कार्यमा केन्द्रित रही विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामूहिक भोजनको कार्यक्रम संचालन गरिएको जनाइएको छ ।
१ सय ३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, वयक्तिगत सरसफाई किट (पुरुष-महिला) तथा सामूहिक रुपमा प्रयोग गर्नेगरी १०-१० थान शौचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात् ७ सय जना आगलागी पीडितहरूलाई सामूहिक खाना समेत खुवाइएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।