नेपालमा पनि ढिला बिवाह गर्ने परम्पराको विकाश भइसकेको छ । ढिला बिवाह गर्दा धेरै कुराहरु राम्रो हुने भएपनि केही कुराहरुमा भने असर पार्ने तथ्यले देखाएको छ । हालै सार्वजनिक गरिएको एक नयाँ अध्ययनका अनुसार ३० वर्षपछि आमा बन्ने महिलाद्वारा जन्माइएको छोरीहरुमा युवावस्थामा डिप्रेशन हुनसक्ने सम्भावना औल्याएको छ ।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका वैज्ञानिक र मुख्य लेखिका जेसिका टीयर्न भन्छिन्, ‘युवा अवस्थामा महिलालाई डिप्रेसन र तनाव हुन्छ भने त्यसको महत्वपूर्ण कारण उनीहरुको जन्मसँग जोडिएको हुन्छ । उनीहरु जन्मँदा आमाको उमेर तीस कटेको छ भने यस्तो समस्या हुने प्रवल सम्भावना हुन्छ ।’
यो अध्ययनका लागि शोधार्थीहरुले वेस्टर्न अस्ट्रेलिया प्रेग्नेन्सी कोहर्टको अध्ययनको तथ्यांकलाई विश्लेषण गरेका थिए । उक्त अध्ययनमा १९८९ देखि १९९१ को बीचमा गर्भवती भएका महिलाहरुलाई सहभागी गराइएको थियो । उनीहरुको मनोवैज्ञानिक र जनसांख्यिक जानकारी पनि संकलन गरिएको थियो । उक्त तथ्यांकलाई पछिल्लो २३ वर्षमा विभिन्न उमेरको क्रममा उनीहरुको छोरीको मनोवैज्ञानिक मूल्यांकन गरिएको थियो ।
शोधार्थीहरु ती महिलाहरुको एक हजार दुई सय छोरीहरुले २० वर्षसम्मको उमेरमा डिप्रेशन र तनावको विभिन्न लक्षणहरुको अध्ययन गरे र उनीहरु जन्मँदा उनीहरुको बाबुआमाको उमेरको तुलना पनि गरे । छोरी जन्माउने बेला जुन आमाको उमेर ३० देखि ३४ वर्षको बीच थियो, उनको छोरीमा ३० वर्षभन्दा कम आयुमा सन्तान जन्माउने आमाको छोरीको तुलनामा धेरै तनाव हुने गरेको भेटिएको थियो । त्यसरी नै २० वर्षभन्दा कम उमेरमा जन्म दिने ५ प्रतिशत महिलाको उनीहरुका छोरीमाथि कुनै प्रभाव देखिएन ।