काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो। योसँगै कोलकाताले तेस्रो पटक आईपीएलको उपाधि जितेको हो।
यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो। फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्यो। कोलकाताका लागि वेंकटेश ऐयरले अर्ध शतक प्रहार गरे।
उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे। ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। सुनिल नारायण ६ रन बनाएर आउट हुँदा कप्तान श्रेयस ऐयर ६ रन जोड्दै नट आउट रहे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो । हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए।
त्यस्तै एडेन मार्करामले २०, हेनरिक क्लासेन १६ रन बनाए । नितिश कुमार रेड्डीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कोलकताका लागि आन्द्रे रसेलले तीन, मिचेल स्टार्क तथा हर्षित राणाले दुई/दुई विकेट लिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।