काठमाडौँ।
नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको गजल मुशायराको चौथो श्रृङ्खलाको अवसरमा गजलकार भोजराज घिमिरेको गजल संग्रह ‘नाद’को विमोचन गरिएको छ ।
‘म उसै छदै थे पागल, नहुँदा तिमी नजिकमा
नभई भएछु घायल, नहुँदा तिमी नजिकमा ।’
राष्ट्रिय नाचघरको प्रेक्षालयमा सङ्गीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठको कर्णप्रिय धुन् र सुमधुर स्वरमा गुन्जिएको ‘नाद’का शब्दहरुले कार्यक्रमलाई थप रोमाञ्चक र उत्साहजनक बनाई दिएको थियो ।
घिमिरेको गजल संग्रह ‘नाद’को शास्त्रीय बहरबद्ध गजलका रदीफ र काफीयामा तन्किएका शब्दलहर भित्रका प्रेमील अर्थको प्रशंसागर्दै गजलकार भुवन निस्तेज र घनेन्द्र ओझाले पुस्तकको समीक्षा गरेका थिए ।
कार्यक्रममा गजलकार भुवन बोहोरा निस्तेज, आर्य आयुषा र त्रुपकलाई सम्मान गरिएको नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए । सो अवसरमा खुला प्रवेश गरिएको मुशायरामा सम्मानित गजलकारत्रयले शास्त्रीय बहरबद्ध गजलहरु तरन्नुम र तहतमा वाचन गरेका थिए ।
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नादका कृतिकार भोजराज घिमिरे, गजलकार शान्ति निहारिका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।