
ललितपुर ।
हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका ललितपुर निवासी युवा समाजसेवी अजयसिंह सिलवालले आफ्ना स्वर्गीय हजुरबुबा जितबहादुर सिलवालको स्मृतिमा जित फाउन्डेसन नेपाल स्थापना गर्नुभएको छ।
सो फाउउन्डेसनमार्फत् नेपालको शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, जनावर संरक्षण, महिला सशक्तीकरणमा योगदान पुर्याउने लक्ष्य राखिएको फाउन्डेसनका अध्यक्ष बद्रि सिलवालले जानकारी दिनुभयो । यसको कार्यालय ललितपुर महानगरपालिका –१८ भैंसेपाटीमा रहेको छ।
युवा समाजसेवी अजय सिंहले अस्ट्रेलियामा मिहिनेत र संघर्ष गरेर कमाएको केही कमाइबाट आफ्नो स्वदेशको सेवा गर्दै यहाँका गरिब विपन्न नागरिकको उत्थानमा योगदान पुर्याउने लक्ष्यअनुसार फाउन्डेसन गठन गरिएको अध्यक्ष सिलबालले बताउनुभयो। फाउन्डेसनका अध्यक्ष सिलवाल आफैं पनि समाजसेवी, उद्यमी र राजनीतिकर्मी रहनुभएको छ।
सो फाउन्डेसले यसै आर्थिक वर्षबाट काम थाल्ने जनाइएको छ। फाउन्डेसनले शिक्षा क्षेत्रमा विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने छ भने स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकलाई स्थानीय तहको सिफारिसका आधारमा सरकारी अस्पतालमा उपचारमा सहयोग गरिदिने छ । यसै गरी फाउन्डेसनले दैवी प्रकोपमा परेका पीडित नागरिकलाई राहत सहायता उपलब्ध गराउने छ।
महिला सशक्तीकरणतर्फ विभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा महिला समूहलाई सीपविकास तालिम प्रदान गरी आत्मनिर्भर बनाउन आवश्यक भूमिका खेल्ने फाउन्डेसनले जनाएको छ। यसैगरी सो फाउन्डेसनले सडकमा बेवारिस छोडिएका कुकुर, गाईलगायतका पशुहरूको उचित संरक्षण र व्यवस्थापनमा सहयोग पु¥याउने र अन्य सामाजिक कार्यहरू समेत निन्तर गरिरहने अध्यक्ष बद्रि सिलवालले जानकारी दिनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।