काठमाडौं ।
युगकवि सिद्धिचरण श्रेष्ठले १९९२ सालमा कोरेको ‘ओखलढुंगा’ कवितामा ओखलढुंगा जिल्लाको प्राकृतिक तथा भौगोलिक अवस्थाको वर्णन पाइन्छ । कवितामा युगकवि श्रेष्ठले ओखलढुंगा जिल्लालाई सुन्दर र हरियाली जिल्लाका रूपमा चिनाएका छन् ।
हुनपनि ओखलढुंगा जिल्ला आफैंमा सुन्दर र हरियाली जिल्ला हो । यो जिल्ला पर्यटनका क्षेत्रमा पर्याप्त संभावना भएको जिल्लाको हो । पछिल्लो समयमा पर्यटकीय संभावना भएका यहाँका दर्जनौं ठाउँहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरू गरिएको छ । ओखलढुंगा जिल्लाले सोलुखुम्बुमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा र पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीधाम आउने पर्यटकहरूलाई लोभ्याउन सक्छ ।
काठमाडौंबाट सडकमार्ग हुँदै सर्वोच्च शिखर सगरमाथा क्षेत्र जाने पर्यटन रूटको ट्रान्जिट प्वाइन्ट समेत ओखलढुंगा बनेको छ । जसले गर्दा ओखलढुंगा थप संभावनाको जिल्ला बनेको छ । यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने थुप्रै ठाउँहरू रहेका छन् । खिजी देम्बा गाँउपालिकाको थोले देम्बा डाडा, लिखु गाउँपालिकको पोकली झरना, मोलुङ गाउँपालिकाको सेप्ली झरना लगायतका क्षेत्रले पर्यटकको मन तान्न सक्छ ।
ओखलढुंगा जिल्लामा रहेका पर्यटकीय क्षेत्रमध्ये धेरै संभावना बोकेका प्रमुख पर्यटकीय क्षेत्र र यो क्षेत्रको बिकासकालागी कोशी प्रदेश सरकारले चालेका कदमको यहाँ वर्णन गरिएको छ ।
पोकली झरना
लिखु गाउँपालिकामा रहेको पोकली झरना देशकै दोस्रो अग्लो झरना हो । यो झरना १३० मिटर अग्लो रहेको छ । सुन्दर पहाडको बीचबाट झर्ने झरनाले पर्यटकीय आकर्षण बोकेको छ । यो झरनामा जानका लागि रामेछापको मन्थली–ढाँडे–शीरिषेहुँदै ओखलढुंगा प्रवेश गर्न सकिन्छ । ओखलढुंगा सदरमुकामबाट भने कोषाहाट–घोराखोरी–रानीवन–यसम–गामनाङटार हुँदै सडकमार्गबाट जान सकिन्छ । वर्षाद्को समयमा भने सडक अबरूद्ध हुने भएकाले दुई दिन पैदल हिँडेर पुग्न सकिन्छ । जो–कोही पोकली पुग्नेले पोकलीको सुन्दरताको बयान नगरी फर्कंदैनन् । यहाँ बास बस्नका लागि राम्रो सविधा रहेको छ ।
पोकली झरनाको प्रचारप्रसारका लागि यसअघि लगातार तीन वर्षसम्म पर्यटकीय महोत्सव गरिएको थियो । प्रायः जाडो र गर्मी दुवै समयमा एउटै मौसम हुनु पोकलीको विशेषता हो । पोकलीमा आन्तरिक तथा बाह्य पर्यटक दुवै आउने गर्छन् । पोकली झरणाको पुर्वधार बिकासकालागी कोशी प्रदेश सरकारले रकम बिनियोजन गरि आवश्यक पुर्वधारहरु निमार्ण गरिएको छ । पोकली झरणा पुर्वधार बिकास आयोजनाका लागी प्रदेश सरकार ५० लाख रुपैया बिनियोजन गरेको र उक्त बजेट बाट सडक देखि झरना सम्मको सिडि बाटो निमार्ण गरिएको लिखु गाँउपालिका वडा नं. ९ का अध्यक्ष केशव हरि ढुंगेलले बताएका छन ।
देम्बा डाँडा
तीन हजार तीन सय ५० मिटर अग्लो देम्बा डाँडा ओखलढुंगाकै अग्लो डाँडाको रूपमा चिनिन्छ । यो डाँडा खिजीदेम्बा गाउँपालिका वडा नं. ५ मा पर्दछ । यो डाँडाको विशेषता भनेकै विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका दर्जनौं हिमशृङ्खलाको दृष्यावलोकन हो । यहाँ जाने जो कोहीले सोलुखुम्बु र ओखलडुंगाका आकर्षक पहाडी भूगोल हेर्दै मजा लुट्न पाउँछन् । यस क्षेत्रमा बहुमूल्य जडीबुटीहरू समेत पाइन्छ । यहाँ चैत–वैशाखको सिजनमा जंगलै ढकमक्क हुनेगरी रंगीविरंगी गुराँस फुलेको हेर्न पाइन्छ ।
यो डाँडामा पुग्न ओखलढुंगा सदरमुकामबाट चुप्लुभञ्ज्याङसम्म कच्ची बाटो हुँदै ५ घण्टासम्म लाग्छ । चुप्लुभञ्ज्याङबाट उत्तरतर्फ साढे ३ किलोमिटर उकालो लागेपछि यस डाँडाको विन्दुमा पुग्न सकिन्छ । यस्तै रामेछापतर्फबाट तामाकोशी–खिम्ति–मन्थली सडकखण्डको हल्देबाट धोवी–लिखुखोला–ढाँडे–खिजिफलाटे हुँदै चुप्लुभञ्ज्याङसम्म कच्ची बाटो प्रयोग गरी पुग्न सकिन्छ । देम्बा डाडाबाट सुन्दर भ्यु हेर्नाकोलागी प्रदेश सरकारले भ्यू टावरको निर्माण गरेको छ । हाल यो टावर बाट पर्यटकहरुले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका दर्जनौं हिमशृङ्खलाको अवलोकन गरि मनोरञ्जन लिने गरेका छन ।
सेप्ली झरना
ओखलढुंगा सदरमुकामबाट रिजर्भ जीपमा उत्तर पश्चिमतर्फ लागेपछि विगुटारको सुर्के हुँदै २ घण्टामा राँगादीपको स्कूलडाँडा पुगिन्छ । स्कूलडाँडाबाट १५ मिनेट अगाडि बढेपछि जिपको यात्रा सकिन्छ । जिपबाट उत्रिएर चुलीडाँडा, कोरनाम हुँदै डेढ घण्टा ओरालो उकालो गरेपछि सेप्ली गाउँ पुगिन्छ । सेप्ली गाउँबाट उकालो आधा घण्टा अप्ठ्यारो र साँघुरो गोरेटो छिचोलेपछि पुगिन्छ, सेप्ली झरना ।
मोलुङ गाउँपालिकाको वडा नं. ७ र ८ को बीचमा रहेको सेप्ली झरना पुग्न जति कठिन छ, उति मनमोहक पनि ।
सेप्ली झरना बाटो विकट भएकै कारण यतिबेलासम्म प्रचारमा आउन सकेन । स्थानीयले पनि सेप्ली झरनालाई छाँगोको रूपमा बुझिदिए । गाउँपालिकाले चासो दिएर झरना क्षेत्रसम्म जाने गोरेटो निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउन विभिन्न अभियान थालेपछि भने सबैको ध्यान यसतर्फ तानिएको छ । देशकै अग्ला झरनामध्येको एक मानिएको सेप्ली झरनाको उचाई यकिन हुन सकेको छैन । यसको उचाई १५० मिटरभन्दा अग्लो रहेको अनुमान गरिएको छ ।
यो झरनाका विभिन्न मिथक छन् । पूर्णिमाको दिन मात्रै देखिने अनौठो ढुंगा, झाँक्री गुफा, झरना दहमा खस्दा ढ्यांग्राको आवाज फरक फरक दुई पटक सुनिने, त्यही आवाजलाई झाँक्रीको ढ्यांग्रो बजाएको आवाज भएको विश्वासलगायत छन् । सेप्लीको छाँगोसँगै देखिने भीरमौरी, पहराका बीचबाट एकैसाथ निस्केर सीधै दहमा खसेको झरना र यसको फरक फरक बहाव निकै आकर्षक मानिन्छ । झरना आसपासमा रहेका अनौठा आकृतिका देखिने पहरा रक क्लाइम्बिङका लागि निकै आकर्षक छन् ।
देशकै दोस्रो अग्लो मानिएको जिल्लाको लिखु गाउँपालिकामा रहेको पोकली झरनाभन्दा दोब्बर पानी सेप्ली झरनामा छ ।
यो झरनाको बिकासकालागी प्रदेश सरकारको बजेटमा सेप्ली झरना पर्यटन महोत्सवकालागी महोत्सव स्थल निर्माण तथा गाडी पार्किङ स्थल निर्माण गरिएको छ । प्रदेश सरकारको १५ लाख बजेटले झरणा अबलोकनमा आउने पर्यटकहरुको सवारी साधन पार्कीङ स्थल तथा महोत्सबका लागी स्टेजको निर्माण गरिएको छ ।
चम्पादेवी मन्दिर
चम्पादेवी मन्दिर हिन्दू धर्मालम्बीहरूको जिल्लाकै सबैभन्दा महत्वपूर्ण तीर्थस्थाल हो । यो मन्दिरकै नामबाट जिल्लाको एउटा स्थानीय तहको ‘चम्पादेवी’ नामाकरण गरिएको छ । मन्दिर साविकको विलन्दु र कटुञ्जे गाविसको संगमस्थलको रूपमा रहेको छ । यो मन्दिरमा जानका लागि ओखलढुंगा सदरमुकामबाट कटुञ्जेहुँदै पुग्न सकिन्छ । यो क्षेत्र सदरमुकामदेखि १२ कोष पश्चिम रहेको छ ।
रैथानै शेर्पा र गुरूङ जातिको परम्परागत संस्कृति र झाँक्री विद्या सिक्ने थलोको रूपमा यो ठाउँ परिचित छ । विशेष गरी यो तीर्थस्थलमा हिन्दु धर्मावलम्बीहरू जाने गरेका छन् । यहाँ गएर दर्शन गर्नाले मानोकांक्षा पुरा हुने विश्वास गरिन्छ । ककनीदेखि सूर्योदय र सूर्यास्तसँगै सर्वोच्च शिखर सगरमाथा, माउन्ट मकालु, लोत्से, आमादब्लम, गौरीशंकरलगायतका हिमश्रृंखला अवलोकन गर्न पाइन्छ ।
यहाँ विशेषगरी धान्य पूर्णिमाका दिन ठूलो मेला लाग्छ । मन्दिरमा दर्शन गर्न सिन्धुली, रामेछाप, खोटाङ, दोलखा, उदयपुर, दोलखा र राजधानी काठमाडाैंसम्मका पर्यटक तथा भक्तजनको भीड लाग्ने गर्छ । चिताएको पुग्ने र जति तीर्थालु बढ्यो त्यही मात्रमा चम्पादेवी थान नजिकै रहेको झरनामा पानी बढ्ने धार्मिक विश्वास गरिने भएकाले भारतदेखि पनि वर्सेनि हिन्दु धर्मालम्बीहरू आउने गरेका छन् ।
यस मन्दिरको संरक्षणकालागी प्रदेश सरकारले हाल सम्ममा रु २५ लाख बिनियोजन गरेको देखिन्छ । प्रदेश सरकारबाट बिनियोजित बजेटले मन्दिर परिसर फाराकिलो बनाउने, मन्दिर संरक्षणकालागी भित्तामा पर्खाल लगाउने र बाटो निर्माणको काम गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।