![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a495e0a4aee0a49ce0a58be0a4b0e0a580-e0a4b8e0a581e0a4a7e0a4bee0a4b0e0a58de0a4a6e0a588-e0a4b8e0a482e0a4b8e0a4a6e0a58de0a4b2e0a4bee0a488.webp)
काठमाडौं ।
सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्।
संसद् दिवसका अवसरमा आइतबार जारी शुभकामना सन्देशमा घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताए।
संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको उल्लेख गरेका छन्। संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन्।
संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।