दोलखा ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडानम्बर–९ मा पर्ने च्छो–रोल्पा हिमताल जाने पैदलमार्गका दुई बस्ती ना र बेदिङ बाढी–पहिरोको जोखिममा परेका छन् ।
च्छो–रोल्पा हिमताल विस्फोटको खतरा र बस्तीमाथिको भीर खस्छ कि भन्ने पिरलोले रातभरि अनिँदो बस्नुपर्ने अवस्था भएको बेदिङको स्थानीय दावालमु शेर्पा बताउनुहुन्छ । निरन्तरको वर्षाका कारण च्छो–रोल्पा हिमताल विष्फोट भई हाल्छ कि भन्ने त्रास पनि छ, अनि गाउँमाथिको भीर बग्छ कि भन्ने त्रास पनि छ, दावालमुले भन्नुभयो– त्यसैले वर्षा भएको बेला रातभरि अनिँदै बस्नुपर्छ ।
असार २४ गतेको अविरल वर्षाले च्छो–रोल्पा जाने मार्गको पाँचवटा पुल बगाएपछि अहिले ना र बेदिङका बासिन्दा अन्यत्र आवत–जावत गर्न नसक्ने अवस्थामा छन् । जसका कारण ना गाउँमा रहेका झण्डै २७ जना र बेदिङमा रहेका विद्यार्थी र शिक्षकसमेत झन्डै ३२ जना सङ्कटमा परेका छन् ।
च्छो–रोल्पा जान बेदिङबाट ना गाउँ हुँदै अघि बढ्नुपर्छ । वर्षायाममा बेदिङकै मानिस ना गाउँमा उक्लने भएकाले अहिले बेदिङमा गाउँले ६ जना मात्र रहेको दावालमुले बताउनुभयो । नामा भने २७ जना रहेको दावालमुले बताउनुभयो ।
बेदिङमा स्थानीय गाउँले बाहेक साङ्छोलिङ मनस्ट्री लामा स्कुलमा पढ्ने २२ जना विद्यार्थी, तीन जना शिक्षक र एक जना कुकसमेत रहेको दावालमुको भनाइ छ ।
बेदिङको गाँउमा भीरबाट पहिरो खस्ने त्रास भए पनि स्कुल रहेको ठाँउमा भने पहिरोको त्रास नरहेको साङ्छोलिङ मनस्ट्री लामा स्कुलका शिक्षक बोलेन्द्र आचार्यले बताउनुभयो । च्छो–रोल्पा हिमताल विष्फोट त नहोला तर त्यस्तो अवस्था आयो भने स्कुल पनि जोखिममा पर्ने शिक्षक आचार्य बताउनुहुन्छ । ‘ना गाउँ पनि पहिरोको जोखिममा त छैन तर च्छो–रोल्पा विष्फोट भयो भने ना गाउँ पनि बग्ने खतरा छ’ –आचार्यले भन्नुभयो । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका भूर्गवविद् डा. वसन्तराज अधिकारी विगतमा च्छो–रोल्पा हिमताल विष्फोटको खतरा भएपछि तीन मिटर पानी घटाउने काम भएकोले त्यति धेरै जोखिम नहुनुुपर्ने बताउनुहुन्छ ।
तर पछिल्लो अवस्थाको बारेमा स्थलगत वा स्याटलाइटको माध्यमबाट समेत अध्ययन नभएकोले विष्फोट हुुन्छ या हुँदैन भनेर यकिनका साथ भन्न नसकिने डा. अधिकारीको भनाइ छ ।
बाढीपहिरोका कारण आवागमन बन्द भएपछि गौरीशङ्कर गाउँपालिकाको पहलमा बेदिङ र ना गाउँका बासिन्दा तथा विद्यार्थीहरूका लागि हेलिकोप्टरबाट केही खाद्यान्नका सामग्री भने पु¥याइएको छ ।
गत असार २४ गते दोर्जेफाङगुको फेदमा रहेको भूत ताल विष्फोट भई बाढी आएर डोङनाङको बस्ती बगाएको अनुमान गरिएकोले च्छो–रोल्पा हिमताल पनि जोखिममा छ कि भन्ने त्रास बढेको स्थानीय बताउँछन् । तर, खोलाको पुल बगाएको र ठाउँठाउँमा पहिरो गएकोले च्छो–रोल्पा हिमताल भएको ठाउँसम्म पुग्ने अवस्था नरहेको साङ्छोलिङ मनस्ट्री लामा स्कुलका शिक्षक आचार्यको भनाइ छ ।
दोलखा गौरीशङ्कर गाउँपालिकाको वडानम्बर–९ मा रहेको च्छोरोल्पा हिमताल पुुग्न सिमिगाँउबाट सुर्मुुचे, क्याल्चेन, डोङ्नाङ, थाङ्मिङ, सन्दर, बेदिङ र ना हँुुदै जानुपर्छ । अविरल वर्षाका कारण अहिले डोङ्नाङभन्दा माथि जान नसक्ने अवस्था रहेको गौरीशङ्कर गाउँपालिका वडानम्बर–९ का वडाअध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।