३० भदौ , काठमाडौँ – स्थानीय तहको तेस्रो चरणमा प्रदेश दुईमा आगामी असोज २ गते हुने निर्वाचनका लागि यही २०७४ भदौ ३० गते अर्थात आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि किसिमको चुनाबी प्रचार प्रसार नगर्न निर्वाचन आयोगले सबै राजनितिक दल तथा उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा निम्न बमोजिम आचरण पालना गर्नुहुन सम्बद्ध सबैलाई आयोगले आग्रह गरेको छ ः
- निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,
- मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
- एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
- उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।
- उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।