वीरगन्ज।
अब साउन पनि सकिन लागेको छ । साउन पनि सोमबार भनेपछि तराई मधेशमा अलि बढी नै धर्मकर्मको कुरा पनि हुन्छ र गतिबिधि पनि हुन्छ । पर्साको दुग्धेश्वर (भाटा बाबा) मन्दिर पनि एउटा धार्मिक स्थल हो,यहाँका नागरिकहरुका लागि तर यो स्थानमा जान र आउन ज्यानै फाल्न पर्ने भएको छ ।
गएको सोमवार त्यही ठाउँमा मेला वा जात्राका लागि गएका दुईजना मकवानपुरका युवकहरु कहिल्यै नफर्कने गरी अस्ताए । उनीहरु सोमबार बेपत्ता भएको खबर आयो अनि बुधबार शव फेला प¥यो । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर २ का राजकुमार मेघी र मनहरी गाउँपालिका वडा नम्बर ५ का रामबहादुर मोक्तानको शव फेला परेको हो ।
उनीहरुको शव पर्सा राष्ट्रिय निकुञ्जको शितलपुर खोला नजिकबाट बरामद भएको प्रहरीले जनाएको छ । बेपत्ता दुई युवकको खोजीका लागि खटिएका उद्धार टोलीले उनीहरुको शव फेला परेको उद्धार टोलीमा सहभागी सुमन ठाकुरले बताए । उहाँका अनुसार जंगली हात्तीको आक्रमणबाट उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान छ । घटनास्थलमा हात्तीको पाइला समेत देखिएको उनले जानकारी दिए ।
मकवानपुरबाट भाटा बाबाको दर्शन गर्न आएका उनीहरु साउन १९ गतेदेखि बेपत्ता भएका थिए । उद्धार टोलीले घटनास्थलबाट मृतकको शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाएपनि बुधबार नै आफन्तको जिम्मा लगाइएको बुझिएको छ ।
साउन महिनाको खासगरी सोमवार भाटा बाबाको मनिदर परिसरमा लाग्ने भेलामा दर्शनार्थीहरुको एक महिनासम्म घुइँचो लाग्ने गर्दछ । जंगलको बाटो यसैपनि असुरक्षित अनि पैदल हिँडेर गएमा मनोकामना पूरा हुन्छ भन्ने भ्रमका कारण पनि यात्रुहरुले जंगली जनावरको जोखिम बालेर जाने गरेको र जसका कारण मानवीय क्षति भएको स्थानीयहरु बताउँछन् । स्थानीय सरकार र निकुञ्ज प्रशासनले जथाभावी यो स्थानमा जाने विषयमा रोक लगाउन आवश्यक रहेको पनि स्थानीयहरुको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।