०१ असोज , काठमाडौँ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केहि दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।
आकासमा बादल सक्रिय नहुँदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण देशभरको तापक्रम वृद्धि भएको छ ।
खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेको कारण सर्वसाधारणलाई कठिनाइ भएको छ । ती स्थानबाट असाध्यै तातो भएको जिज्ञासा सर्वसाधारणले मौसम पूर्वानुमान महाशाखासँग गरेका छन् । मानसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेको कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । “वर्षा गराउने जलवाष्पयुक्त हावा कम्जोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन । अहिले नेपालको मनसुनी पनि केही कम्जोर छ एक/दुई दिनपछि यो बिस्तारै सक्रिय हुने सम्भावना छ,” – उनले भनिन् । मौसमविद् कँडेलका अनुसार चर्को घाम लागे पनि आज अपरान्हपछि बदली भई थोरै स्थानमा वर्षात् हुनेछ, दिउसो तातो पनि साझापख मनसुनी गतिविधि बढ्नसक्ने र यो अवस्था अझै केही दिन जारी रहनेछ ।
यो वर्ष १२ जुन (जेठ २९ गते) बाट नेपालमा मनसुन सुरु भएको थियो । सामान्यत: सेप्टेम्बेर १६ (असोज ८ गते) मनसुन सकिने भए पनि यो वर्ष केही लम्बिने सम्भावना रहेको मौसमविद् आँकलन छ । चर्को घाम लागेकाले अधिकतम तापक्रम धेरै नबढे पनि गर्मी महसुस भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार सबैभन्दा बढी विराटनगरमा ३५, भैरहवामा ३५, धनगढीमा ३३, दिपायलमा ३३ र नेपल्गञ्जमा ३२ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम ओखलढुंगामा अधिकतम २३ रहेको छ ।
यो खबर आजको दैनिक पत्रमा छ ।