०२ असोज , भैरहवा – मायादेवी गाउँपालिकाको आर्थिक वर्ष ०७४ । ०७५ का लागि ३५ करोड ८५ लाख बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले ३५ करोड ८५ लाख ७ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अनुदान शिक्षा,कृषि विकास, पशुसेवा विकासको लागि केन्द्र सरकारले तोके अनुसारको शीर्षक तथा कार्यक्रमको लागि ६ करोड ५७ लाख ५३ हजार , साधारण खर्चतर्फ ६ करोड ९२ लाख र पूँजीगत खर्च २२ करोड ३५ लाख ५४ हजार प्रस्ताव गरिएको छ । विषयगत शीर्षकअनुसार योजना तथा कार्यक्रमहरुमा ५ लाख भन्दाठूला १ सय १८ र ५ लाखभन्दा साना १ सय ८९ गरी कुल ३ सय ७ योजनाका लागि १९ करोड ७८ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले आर्थिक विकासका लागि कृषि व्यावसायिकरण र बजारीकरण गर्न अभिप्रेरित गर्ने र अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने , एक गांउँ एक उत्पादन एक वडा एक उद्यान र एक वडा एक पोखरी नीतिलाई कार्यान्वयनमा ल्याउन साझेदारी नीति अबलम्ब गर्ने जनाएको छ ।
कृषि हाटबजारहरुको विस्तार तथा गांउँपालिका माताहतमा रहने गरी व्यवस्थापन गरिँदै लग्ने, एक गाउँ एक सहकारीको व्यवस्था गर्न गांउपालिकाले सहजीकरण गर्ने , सामुदायिक विकास कोष कार्यक्रम प्रभावकारी देखिएकाले यस कार्यक्रमलाई निरन्तरता दिई क्रमश क्षेत्र विस्तार गरी सबै वडाहरुमा लागू गर्दै जाने योजना रहेको बताइको छ । उद्योग तथा वाणिज्य क्षेत्रको विकास, विस्तार र संचालन सहज वातावरण बनाई स्थानीय जनताले आय आर्जन गर्ने अवसरतर्फ जोड दिने , करका दायरा फराकिलो बनाउँदै लैजाने र स्थानीय लोक संंस्कृति विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन होमस्टे सञ्चालन गर्ने लगायतका रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गांउँपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपाने, निर्वाचित सदस्यहरुको तर्फबाट छोटेलाल केवट , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संस्थाका प्रतिनिधिहरुले भनाइ राखेका थिए ।
स्रोत : मेचीकाली दैनिक