धादिङ ।
अविरल वर्षापछि खसेको पहिरोले पुरिएर शुक्रवार २ जना चेपाङ बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छिन् ।
नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो लडेर पुरिएका हुन् । पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । त्यस्तै एउटा मोटरसाइकल पनि खोलाले बगाएको योगेन्द्र बस्नेतले जानकारी दिए । हराइरहेका बालिकाको पहिचान खुलेको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।