०५ असोज ,काठमाडौं – हिन्दु धर्मावलम्वीहरुको घर घरमा आज जमरा राखिदै छ । नेपालीहरुको महान चाड बडादशैको आज पहिलो दिन घटस्थापना आज सबै नेपालीको घरघरमा जमरा राखिएको हो । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
नव दुर्गाको पुजा पाठ गर्दै १५ दिन सम्म मनाईने दशैँ पर्वको पहिलो दिन आजदेखि नवरात्र समेत सुरु भएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ ।
टीकाको साइतमा जमरालाई फूलको रुपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
आज घटस्थापना गरि शुरु भएको बडादशैंको बिजयादशमी सम्मका ९ रात्रिमा ९ वटा देवीको पुजा अर्चना गरिन्छ । आजैदेखि धेरै मन्दिरहरुमा बिहानदेखि ठूलो घूइँचो पनि लागेको छ ।
आज दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राख्ने गरिन्छ । कलशको स्थापना गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी त्यसमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायकका अनुसार घटस्थापनाको साइत आज बिहान ९ बजेर ४१ मिनेटमा रहेको छ ।