ललितपुर।
ललितपुर महानगरपालिका– १६ वडाले आयोजना गरेको नृत्य प्रतियोगितामा ५० हजार राशिको पहिलो पुरस्कार आयोना लाखेले जितेकी छिन्।
वडाको कलाकार समितिले नेपाल संवत् ११४५ नयाँ वर्षको पूर्व सन्ध्यामा शुक्रबार मंगलबजारस्थित कार्तिक डबलीमा सो प्रतियोगितामा आयोजना गरेको हो। भक्तपुरको एभरेष्ट इंगलिस स्कुलमा कक्षा ७ मा पढिरहेका लाखे सानै उमेरदेखि विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएकी थिइन् ।
त्यसैगरी इभान धाख्वा द्वितीय, तृतीय लक्की महर्जन र सान्त्वना उत्पला बज्राचार्य भएका थिए । उनीहरुलाई क्रमशः ३० हजार, १५ हजार र ५ हजार नगद राशि प्रदान गरिएको थियो।
सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो। २३ जना प्रतिस्पर्धी रहेकोमा गत शनिबार भएको अडिशनबाट १५ जना सहभागिता चुनिएका थिए।
सो प्रतियोगिताको निर्णायक मण्डलमा सञ्जयशर्मा राजोपाध्याय, स्वजनरघुवंशी र सृष्टि महर्जन रहेका थिए।
प्रतियोगिताको उद्घाटन वरिष्ठ गायक अमरराज शर्माले गरेका थिए । सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले नयाँ प्रतिभाको प्रस्फुटन गराउन प्रतियोगिताको आयोजना गरिएको बताए। नयाँ प्रतिभाहरुलाई उत्प्रेरित गर्न नगद पुरस्कार राखिएको बताउँदै कलाकारको गतिविधिलाई वडा बजेट जथाभावि खर्च गरेको रुपमा नभई नेपाल भाषाको गीत संगीतको विकासका लागि गरेको लगानीको रुपमा हेर्नुपर्नेमा जोड दिए।
नेपाल भाषाको गीत, संगीतको गुणात्मक विकास, कलाकारहरुको प्रतिभा प्रस्फुटनका लागि समितिले विभिन्न गतिविधि गर्दै आएको समितिका संयोजक सुरजवीर बज्राचार्यले बताए ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्य, ललितपुर क्षेत्र नं २ का संघीय सांसद प्रेमबहादुर महर्जनको उपस्थिति रहेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।