काठमाडौं।
विभिन्न विपत्ति, महामारी तथा कोरोनाकालमा राहत बाँडेर नथाकेका समाजसेवी ताराबहादुर कुँवरले काभ्रेका बाढीपहिरोपीडितलाई राहत बाँडेका छन् ।
तिहारको औंसी, गाईतिहार र भाइटीकाको तीनै दिन चाडपर्व नभनी काभ्रेका मण्डनदेउपुर–१० सुलिकोटका बाढीपहिरोपीडित २२ परिवार, भुम्लु गाउँपालिका–९ ज्याम्दीको थापागाउँमा ६ परिवार, गैरीखोलामा ७ परिवार र भुम्लु–१ भोटेटारमा ६ परिवारलाई उनले राहत बाँडेका हुन् । राहतमा प्रत्येक परिवारलाई सिरक, चामल र म्याट रहेको थियो । त्यस ठाउँका बाढीपहिरोपीडितहरुले अहिलेसम्म राहत नपाएको भनी गुनासो गरेकाले आफ्नै एकल प्रयासमा चाडपर्व नभनी ४१ घरपरिवारलाई राहत वितरण गरेको कुँवरले बताए ।
त्यसै गरी कुँवरले दशैंका तीन दिन पनि बाढीपहिरोपीडितहरुलाई राहत वितरण गरेर आफ्नो दशैं मनाएका थिए । उनले भने– ‘पीडितहरुले लौन सहयोग गर्नुप¥यो भनी फोन गर्नुहुन्छ, मन थाम्नै सक्दिनँ, अलिअलि भए पनि सहयोग पुगिहालोस् भनी जाने गरेको छु । दिएर म गरिब र लिएर अरु धनी हुन्नन्, सधैं सहयोग गर्न पाइयोस् यही कामना छ ।’
दशैंमा उनले काभ्रेकै पाँचखाल–८ भँगेरी, पाँचखाल–१३ कोशीदेखाको रोटेपिङ र कोशीदेखा बजार, भुम्लु–४ को गुफा, भुम्लु–२ को सिम्थली, भुम्लु–८ को घट्टेखोला, पौवा, हवेलीटार, भुम्लु–७ को फलाटे पीपलटार र भुम्लु–१ को सपिङ, भारतीटोल, अर्खौले, उर्लेनीलगायतका ठाउँहरुमा ८० घरपरिवारलाई चामल, सिरक र म्याट्रेस राहतस्वरुप हस्तान्तरण गरेका थिए ।
यसबाहेक पनि उनले विभिन्न संघसंस्थासँग मिलेर अपाङ्गता भएकाहरुलाई ह्विल चेयर वितरण गर्दै आएका छन् । आफ्नो जन्मभूमि भएकाले सकेको जति सहयोग काभ्रेमा नै गरेको उनले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।