हेटौंडा ।
वागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले आफ्नो नियुक्तिपश्चात् सय दिनमा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । साउन ९ मा मन्त्री नियुक्त तामाङले आफूले सम्हालेको मन्त्रालयअन्तर्गत् सम्पन्न मुख्य कार्यहरुको समीक्षा प्रस्तुत गर्नुभएको हो ।
मन्त्री तामाङका अनुसार ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाबाट पारित भइ प्रदेश राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आएको छ । ‘प्रदेश औद्योगिक व्यवसाय ऐन’ र ‘प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धि ऐन’ तयार गरी अन्य मन्त्रालयबाट राय लिइ मन्त्रिपरिषद्मा पेश गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री तामाङले आर्थिक वर्ष २०८१÷०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उहाँले उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै ‘प्रविधि हस्तान्तरणसम्बन्धि कार्यविधि, २०७९’ मा आवश्यक संशोधन गरी प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाउने योजना रहेको उल्लेख गर्नुभयो ।
साना, घरेलु तथा लघु उद्योगहरुको प्रवद्र्धनमा पनि मन्त्रालयले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्ने नीतिअनुसार तालिम कार्यक्रमहरुको मस्यौदा तयार गरी आर्थिक मामिला मन्त्रालयमा राय माग गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा करिब २ हजार १ सय ५६ नयाँ उद्योग र व्यापारिक फर्म दर्ता भइसकेका छन् ।
दशैं, तिहारलगायत चाडपर्वमा कालोबजारी नियन्त्रण र उपभोक्ता संरक्षणका लागि नियमित बजार अनुगमन गरिएको छ । यस क्रममा १३ वटै जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयले करिब ५ सय ४५ फर्म अनुगमन गरी ६ लाख ५५ हजार जरिवाना र म्याद नाघेका सामग्रीहरु नष्ट गरेका थिए ।
अविरल वर्षा र बाढीका कारण उद्योगहरुमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश नीति तथा योजना आयोगमा पठाइएको छ । ‘नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१’ तर्जुमा गरी उत्कृष्ट उद्यमीलाई सम्मान गर्न यस वर्ष प्रदेशभरबाट १४ जना उद्यमी छनौट गर्ने योजना उहाँले सार्वजनिक गर्नुभयो ।
मन्त्रालयले नापी कार्यालय मकवानपुरको प्रांगणमा सर्भेपार्क निर्माण तथा गण्डकी प्रदेशको अनुभवको आधारमा चक्लाबन्दीको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गरेको छ । भूमि व्यवस्थापन नीति, औद्योगिक नीति, वाणिज्य नीतिलगायत नीति तर्जुमा गर्ने अवधारणापत्र निर्माण प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
मन्त्री तामाङले कानुनी र व्यवहारिक समस्या सामना गर्दै मन्त्रालयले विभिन्न चुनौतीबीच महत्वपूर्ण कार्यहरु सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–जहाँ चुनौती हुन्छ, त्यहीं समाधानको बाटो खुल्छ । राज्यको चौतर्फी हितका लागि हामी निरन्तर क्रियाशील रहनेछौं ।
मन्त्री तामाङका अनुसार मन्त्रालयले प्रदेश लगानी बोर्ड, भूमि बैंक स्थापनाका लागि नीतिगत् आधार तयार गर्दै डिजिटल सूचना प्रणालीमार्फत् पारदर्शिता कायम गर्न जोड दिएको छ । मन्त्रीको सय दिने कार्यकालमा वागमती प्रदेशको औद्योगिक, वाणिज्य र प्रशासनिक सुधारमा देखिएका उपलब्धिलाई उहाँले राज्यको हितमा नयाँ आयामको थालनीका रुपमा लिनुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।