मकवानपुर ।
हालैको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ।
जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए।
जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रूपमा र एक सय ८३ घर आंशिक रूपमा क्षति भएका उनले बताए । पाँच पालिकाका १६ वटा झोलुङ्गे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उनले बताए।
बाढीपहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा छ, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बागमती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो।
थाहा नगरपालिकामा दुई जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक–एक जना गरी छ जना घाइते भएका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।