दार्चुला।
दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, उनकी पत्नी २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, भारत उत्तर प्रदेशका ४५ वर्षीय मोहमद शाकिर र १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको जात्रा दर्शन गरेर घर फर्किरहेका यात्रु बोकेको म–१ ज–३३८ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए ।
जीप आज विहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा सवार अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक मालिकार्जुन–८ पस्तीका ३० वर्षिय सुनिल जोशी, ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, बैतडीको डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका ३ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि धनगढी लगिएको छ । गम्भीर घाइते जीप सुनिल जोशी, सन्दिप रावल र उत्तम रोकायालाई थप उपचारका लागि रेफर गरिएको तथा सेनाको हेलिकप्टर मार्फत धनगढी लगिएको गोकुलेश्वर अस्पताल दार्चुलाका निमित्त मेसु डाक्टर उत्तम सिंह धामीले जानकारी दिए । सामान्य घाइते भारतका सोहिन शाहको भने गोकुलेश्वरमा नै उपचार भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।