काठमाडौं ।
स्पेनी महान टेनिस खेलाडी राफायल नाडालले डेभिस कपमा हार बेहोरेपछि उनको सुनौलो करिअरको अन्त्य भयो । नेदरल्यान्डस्विरुद्ध मालागामा भएको खेलमा बोतिक भान डी जान्डस्चल्पसँग नाडाल ६–४, ६–४ ले पराजित भएका हुन् । साथै स्पेन पनि नेदरल्यान्डस् पराजित भएको थियो ।
त्यसो त ३८ वर्षीय खेलाडीले यसअघि नै संन्यासको घोषणा गरिसकेका थिए । २३ वर्षको करिअरमा नाडालले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । टेनिसमा ग्रान्डस्लाम उपाधि नजितेमा ती खेलाडीको करिअर खासै राम्रो मानिँदैन । तर, नाडालले २२ पटक उपाधि जित्न सफल भए ।
उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीमा दोस्रो स्थानमा छन् । पहिलो नम्बरमा सर्बियाका नोभाक जोकोभिच छन् । जसले २४ ग्रान्डस्लाम उपाधि जितेका छन् । नाडालले खेल्न मन लागेको भन्दै बताए—साँचो कुरा के भने मलाई खेल्न त मन लाग्छ तर, मेरो शरीरले मलाई खेल्न पुग्यो भनेको छ ।
खेलपछि नाडालले मन छुने कुराहरु बताए । उनले केही समय कोर्टमा हेरिरहे । त्यसपछि केही भावुक बने । त्यहीबेला उनलाई सन्देश दिएका भिडियो देखाइएको थियो । फुटबलका सुपरस्टारहरु डेभिड बेकहाम, एन्ड्रेज इनिस्टा, राउल र सर्जियो गार्सियासहित टेनिसका महान खेलाडी रोजर फेडेरर, नोभाक जोकोभिच, सेरेना विलियम्स र एन्डी मुरेले उनलाई सन्देश दिएका थिए ।
नाडालको सुपर करिअर:
—‘किंग अफ क्ले’ उपनाम पाएका नाडालले फ्रेन्च ओपन सिंगल्समा १४ पटक उपाधि जितेको । पेरिसको रोलान्ड ग्यारोसमा उनले ११६ खेलमा ११२ खेल जितेको । यो रेकर्ड तोड्न मुश्किल हुनेछ ।
—कोही पनि खेलाडीले एउटै ग्रान्डस्लाम प्रतियोगिताको सिंगल्समा १४ उपाधि जितेका छैनन् ।
—नाडालले यूएस ओपनमा ४ पटक तथा अस्टे«लियन ओपन र विम्बल्डनमा २-२ पटक उपाधि जितेको । नाडाल क्ले कोर्टका राजा भएको हुँदा घाँसे कोर्टमा हुने विम्बल्डन र हार्ड कोर्ट अस्टे«लियनमा त्यति बढी उपाधि जित्न सकेनन् ।
—नाडालले बेइजिङ ओलम्पिक्स २००८ मा सिंगल्स र डबल्समा स्पेनलाई स्वर्ण दिलाएको ।
—स्पेनका लागि डेभिस कपमा ४ पटक उपाधि दिलाएको ।
—करिअरमा ९२ उपाधि जितेको ।
ग्रान्डस्लाम उपाधि
२ अस्टे«लियन ओपन २००९, २०२२
२ विम्बल्डन २००८, २०१०
४ यूएस ओपन २००८, २०१०
१४ फ्रेन्च ओपन २००५ देखि २००८, २०१०, २०१२ देखि २०१४, २०१७ देखि २०२०, २०२२
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।