म्याग्दी।
म्याग्दीको सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा अभिमुखीकरण गरिएको हो ।
एचआईभी एड्स संक्रमितलाई समाजमा गरिने अपमान, भेदभाव र दुव्र्यवहारको विश्लेषण गर्न, दुव्र्यवहार र मानव अधिकारको सम्बन्ध तथा स्थानीयस्तरमा हुने गरेका सम्भावित दुव्र्यवहारहरुको पहिचान गर्ने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । एचआईभी एड्स सम्बन्धी अभिमुखीकरणमा एड्स रोगसँग सम्बन्धित विभिन्न विषयहरुमा अन्तत्र्रिmया र छलफल गरिएको आयोजकले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सुजता पोखरेलले एचआईभी एड्सको बारेमा देशभरीको अवस्थाको साथै गण्डकी प्रदेश र म्याग्दी जिल्लाको अवस्थाबारे आफ्नो प्रस्तुतीकरण गरेकी थिइन् । यसैगरी अर्का जनस्वास्थ्य अधिकृत कमल रानाभाटले एचआईभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव र नीतिगत व्यवस्थाको विषयमा सहजीकरण गरे । गएको आर्थिक वर्ष २०८०-०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जना एचाईभीका संक्रमितको पहिचान भएको छ ।
जिल्लामा आर्थिक वर्ष ०७९-८० मा परीक्षण गर्दा भने एचआईभी संक्रमित कोही पनि नभेटिएको अर्थात् संक्रमितको सङख्या शुन्य रहेको पाइएको थियो । म्याग्दीमा हालसम्म १ सय २४ जनामा एचाईभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रुपमा औषधी प्रयोग गरिरहेका छन् भने कोही जिल्ला बाहिर र कतिपयको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । जिल्ला बाहिर जाने संक्रमितहरुमा मुख्यतयाः सामाजिक लाञ्छना र भेदभाव प्रमुख कारण रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्रममा एचआईभी एड्स कसरी सर्छ र यसको रोकथामको बारेमा समुदायलाई बुझाउनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो । एचआईभी एड्स मुख्य गरी असुरक्षित यौनसम्पर्क, निर्मलीकरण नगरेको सुई र संक्रमित महिलाले बच्चा जन्माउँदा सर्ने जोखिम उच्च हुन्छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एचआईभी एड्स प्राणघातक रोगबाट अहिले संक्रामकजन्य रोगमा पुगेको बताए । उनले एचआईभी संक्रमित पुष्टि भएकाहरुलाई समाजले लगाउने लाञ्छना र गर्ने दुव्र्यवहारको विरुद्धमा सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । एचआईभी एड्स विभिन्न माध्यमको सहयोगमा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले बेनी नगरपालिकामार्फत एचआईभी, एड्स रोकथामको बारेमा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।
कार्यक्रमको समापन गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले एचआईभी एड्ससम्बन्धी रोग लाग्नबाट बच्न र संक्रमितहरुलाई समुदायले गर्ने व्यवहारको विरुद्ध सचेतना फैलाउनुपर्ने बताए । कार्यक्रम स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।