खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तलहरु ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ ।
पेय पदार्थका बोत्तलहरु जथाभावी पालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले व्यवस्थापनको अल्टिमेटम दिएको हो । नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर स्वयमले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
तथा पर्यटकीय ठाउँहरुमा समेत जथाभावी शिशाका बोत्तलहरु फालिएका छन् । आफूले गरेको फोहर स्वयम् व्यक्ति, पसल, कम्पनी अथवा डिलरले सफा नगरेको खण्डमा ३५ दिनपछि कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने मेयर भट्टराईको भनाई छ । नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्नका लागि सरोकारवाला निकायसँग पटक–पटक छलफल तथा अन्तरक्रियासमेत गर्दै आइएको नगरपालिकाले जनाएको छ ।
जथाभावी फालिएका शिशाजन्य वस्तुका कारण जिल्लाका खेतीयोग्य जमिन तथा खोलाखोल्सीको वातावरणसमेत बिग्रिएको पर्यावरणको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले बताउँदै आएका छन् । जिल्लाका सबै स्थानीय तहमा ग्रामीण सडकमार्फत यातायातका सवारी साधन पुगेसँगै आयातित खाद्य पदार्थ भित्रिँदा मानव स्वास्थ्य तथा वातावरणलाई समेत दीर्घकालीन असर गर्ने शिशाजन्य वस्तुहरु भित्रिएको हो ।
आयातित खाद्यवस्तुले जिल्लावासीको स्वास्थ्यसँगै आर्थिक बचतमा समेत ठूलो असर पुगेको कृषिविज्ञ मदन राईले बताउनुभएको छ । यसअघिसम्म खाजाको रुपमा खाइने मकैभटमासको ठाउँमा चाउचाउ–थुक्पा तथा दहीमही वा जाँडको ठाउँमा ड्यू, कोक, फ्यान्टा आदि प्रयोग गर्ने स्थानीयवासीको सङ्ख्या बढेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।