काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उहाँविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो।
साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अभियोगपत्र दायर गरेको हो। जसमा उहाँविरुद्ध साढे ७ वर्ष कैद माग गरिएको छ।
सरकारी वकिलले उहाँविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ। दफा (४७) को (२) अनुसार उहाँलाई थप सजाय हुन मागदाबी गरिएको श्रेस्तेदार शर्माले बताउनुभयो। मङ्सिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले शुरूमा उहाँलाई साइबरसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो। भारतीय गुन्डा नाइके लरेन्स विस्नोइको नाममा नेपालका व्यवसायीलाई उहाँले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयालले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।