हेटौंडा ।
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले अध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको छ । आइतबार सचिवालय उद्घाटनसँगै उहाँले अध्यक्षमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएको हो ।
अग्रवालकी आमा रमेदेवी अग्रवालले रिबन काटेर सचिवालय उद्घाटन गर्नुभयो । उद्घाटनसँगै उम्मेदवार अग्रवालले उद्योगी-व्यवसायीलाई सबैको साझा समस्यामा आफू सधैं उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्मको यात्रामा साथ दिने सबैलाई धन्यबाद व्यक्त गर्दै आगामी निर्वाचनमा अध्यक्षमा मतदान गरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । करिब १७ वर्षदेखि संघमा रहेर काम गरिरहनुभएका अग्रवाल कपडा व्यवसायी हुनुहुन्छ । व्यवसायीमात्र नभइ उहाँले विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँ लायन्स, जेसीज, सहकारी र स्वास्थ्यलगायत क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँले टिमको प्रतिवद्धता र पूर्णटिमको घोषणा छिटै गरिने बताउँदै उद्योगी र व्यवसायीको हकहितमा आफू सदैंव लाग्ने बताउनुभयो । अग्रवालले उम्मेदवारी घोषणा गर्दै तीन तहकै सरकारसँगको सहकार्य र समन्वय गरी व्यवसायीको पक्षमा वकालत गरिने बताउनुभयो । बजार चलायमान बनाउन स्थानीय सरकारसँग समन्वय गरी रात्रिबजार, व्यवस्थित वधशाला, सब्जी बजारलगायत उचित व्यवस्थापन गर्न आफूले भूमिका निर्वाह गर्ने उहाँको प्रतिवद्धता छ । विकाससँग हातेमालो गर्ने, आर्थिक विकासमा टेवा पु¥याउने, व्यापारीहरुलाई करलगायत विषयमा प्रशिक्षण दिने, विभिन्न प्रशिक्षण केन्द्र स्थापनामा जोड दिँदै स्वरोजगार जनशक्ति उत्पादन, व्यापारी राहत कोष थप बृद्धि गदै लैजाने, भयमुक्त व्यावसायिक सुरक्षाको प्रत्याभूतिलगायत उहाँका एजेण्डा छन् । संघमा आमन्त्रित सदस्य हुँदै समितिमा प्रवेश गर्नुभएका अग्रवालले दुई पटक कार्यसमिति सदस्य र दुई पटक सहकोषाध्यक्ष र एकपटक कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । हाल उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । वाणिज्यतर्फ उपाध्यक्ष निर्वाचित भइ अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालले उहाँलाई वरिष्ठ उपाध्यक्ष बनाउनुभएको थियो । संघको पुस २४ देखि २७ सम्म ५८ औं साधारणसभा हुने भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।