बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १ सय ६५ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जसमध्ये १ सय ४६ विद्यार्थीलाई नगर प्रमुख रामकृष्ण खाँणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिकवाट त्यस्तै पालिकाले कक्षा ८, १० र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगर प्रमुख खाँणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने तलब र अन्य पारिश्रमिक बापतको रकम ७ लाख ३० हजारबाट १४६ जनालाई जनही ५ हजारका दरले र उत्कृष्ट नतिजा ल्याएका प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैयाँ र प्रशंसा पत्रले विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।
उक्त छात्रवृत्ति नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहनदार तथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न र नियमित रुपमा विद्यालय आउने वातावरण गराउन आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको रुपमा रकम उपलब्ध गराएको बताए ।
‘म धनी भएकाले पैसा बांडे भनेर प्रचार गर्न दिएको होइन’ उनले भने। कुनैपनि बालबालिकाले पढ्ने अधिकारबाट बन्चित हुनु हुंदैन भन्ने मान्यता आत्मसाथ गर्दै आफ्नो पारिश्रमिक बाँडेको उनले बताए । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारका कामलाई जोड दिँदै पुरानो अवस्थालाई हेर्दा अहिले निकै राम्रो अवस्था भएको बताउँदै नगरप्रमुख खाँणले आफ्नो पारिश्रमिक रकम पनि सामुदायिक विद्यालयकैं विद्यार्थीको हितमा लगाउन पाउँदा निकै खुसी लागेको बताए ।
नगरप्रमुख खाँणले विद्यार्थीलाई भोकभोकै स्कुल जान पर्ने बाध्यतालाई टाढा गराउन दिवा खाजामा १० रुपैयाँ थप गरेर २५ रुपैयाँ र ५ कक्षा सम्म सरकारले तोकेको दिवाखाजालाई कक्षा ६ सम्म समेत गर्ने निर्णयपछि स्कुल नियमित जाने प्रक्रियामा समेत सुधार भएको बताए।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जगेश्वरदेवी चौधरले छात्र वृत्ति कार्यक्रम जीवित राख्न र शिक्षाको पहुँच सबैमा पुर्याउन नगरपालिकाले राम्रो प्रयास गरेकोले आगामी दिनमा समेत यसलाई जोगाउन सबै लाग्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले शिक्षा जस्तो संवेदनशील बिषयमा भएको यो कार्य अत्यन्त उत्कृस्ट रहेकोले यस अभियानमा जुट्न सबैलाइ आग्रह गरेका थिए । उनले नगरपालिकाको तर्फबाट सरकारले शिक्षाको लागि के गर्नुपर्छ त्यो गर्न पछि नपर्ने बताउँदै हेर्दा यो सानो रकम देखिएपनि देशमै यो ठुलो कार्य रहेको बताए ।
उनले विद्यालय सुधारका ५ उपाय समेत बताउँदै छात्रवृत्तिले विद्यार्थीमा पढ्ने वातावरणलाई थप सहज बनाउने समेत बताए। सो अवसरमा शिक्षा शाखा प्रमुख गंगाराम आचार्य , शिक्षक महासंघका अध्यक्ष मृगेन्द्र रिजाल,शिक्षक अभिभावक संघकी सुनिता पाण्डे, नगर बालसंजालका अध्यक्ष बिबेक भण्डारी लगायतले बोल्दै पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगर प्रमुखको सो कार्यको मुक्तकंठाले प्रशंसा गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शारदा भट्टराई र रमा आचार्यले गरेका थिए ।सामुदायिक विद्यालयप्रतिको आकर्षण र गुणस्तर वृद्धि गर्न नगरपालिकाको आर्थिक स्रोतबाट बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ बराबरको दिवा खाजाको व्यवस्था सुरु गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।