म्याग्दी।
हिमाली जिल्ला म्याग्दीमा क्रियाशील पत्रकारहरुका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले दुर्घटना बीमा कार्यक्रम सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमार्फत जिल्लामा क्रियाशील पत्रकारहरुलाई लक्षित गरेर १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सञ्चालन गरिएको हो ।
गएको मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनअन्तर्गत म्याग्दी शाखाको सातौं जिल्ला अधिवेशन (निर्वाचन)बाट नवनिर्वाचित कार्यसमितिको पदस्थापनासँगै बुधवार बसेको पहिलो बैठकले पत्रकार दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । वैठकमा म्याग्दी जिल्लामा पछिल्लो तीन वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरुको दुर्घटना बीमा गर्ने निर्णय गरिएको छ ।
पत्रकारहरुको लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको समन्वयमा १० लाख रुपैयाँको दुर्घटना बीमा गर्ने र बीमा शुल्क पत्रकार महासंघले व्यहोर्ने निर्णय गरिएको महासंघको नवनिर्वाचित शाखा अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए । ‘कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस्’ भन्ने अपेक्षासहित रिपोर्टिङको क्रममा भैपरी आउन सक्ने सम्भावित दुर्घटनापछिको राहतका लागि बीमा सुरु गरिएको उनले बताए ।
पत्रकार दुर्घटना बीमा कार्यक्रम पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, निर्वतमान अध्यक्ष एवम् गण्डकी प्रदेशका नवनिर्वाचित उपाध्यक्ष प्रकाश पौडेल र शाखाको पूर्व अध्यक्ष तारानाथ शर्माको बीमा गरी शुभारम्भ गरिएको छ । महासंघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र अन्य पत्रकारहरुको पनि क्रमशः दुर्घटना बीमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमले बताए । पहिलो चरणमा शुभारम्भ गरिएको पत्रकार दुर्घटना बीमा कार्यक्रमलाई आगामी दिनमा कार्यविधि बनाएर थप व्यवस्थित गर्दै लैजाने योजना रहेको छ ।
यो बीमा कार्यक्रमअन्तर्गत दुर्घटनाबाट कुनै पनि पत्रकार कार्य क्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामकाजको सिलसिलामा जिल्लाभित्र तथा बाहिर वा जुनसुकै प्रकारको दुर्घटनामा परेर मृत्युवरण वा पूर्ण रुपमा अशक्त भएको अवस्थामा १० लाख रुपैयाँसम्मको प्रिमियम उपलब्ध गराइने योजना छ । दुर्घटनाबाट घाइते भएमा उपचारका लागि बीमितले एकलाख रुपैयासम्मको लाभ पाउनेछन् ।
यसैगरी वैठकमा म्याग्दीको पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन र नयाँ पत्रकार उत्पादन तथा कार्यरत पत्रकारहरुको क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गर्ने निर्णय भएको छ । पत्रकार महासंघ म्याग्दीले आधारभूत तथा एड्भान्स तालिमका लागि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याइएको हो । पत्रकार महासंघले जिल्लाको विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भई बहस, पैरवी र जनसरोकारका पक्षमा प्राथमिकता दिने सचिव ठाकुरप्रसाद आचार्यले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको निर्वाचन समिति संयोजक तारानाथ शर्मा र सदस्य अधिवक्ता प्रकाश सुवेदीले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । गत मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट म्याग्दी शाखामा हरिकृष्ण गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
पदस्थापन कार्यक्रमको अवसर पारेर पत्रकार महासंघको गण्डकी प्रदेशका नवनिर्वाचित उपाध्यक्ष तथा म्याग्दी शाखाका निवर्तमान अध्यक्ष प्रकाश पौडेलले आफ्नो कार्यकाल सफल बनाउन विशेष सहयोग पु¥याएको भन्दै महासंघको निवर्तमान जिल्ला उपाध्यक्ष हरिकृष्ण गौतम र कोषाध्यक्ष अमित विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।