उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ९ मा रहेको महिला सशक्तीकरण श्रोत केन्द्रद्वारा सञ्चालित रेडियो उदयपुरको १६ औ साधारण सभा शनिबार राजाबास स्थित डल्लेचौरमा सम्पन्न भएको छ ।
समानताका लागि हाम्रो अभियान मुलनाराका साथ भएको सो साधारण सभाले संस्थाको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने आगामी वर्षका लागि कार्यक्रम तथा योजनाहरुसमेत साधारण सभाले पारित गरेको छ ।
महिला सशक्तीकरण श्रोत केन्द्रकी अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवारले महिलाद्धारा सञ्चालित यो संस्थाले अत्यन्त राम्रो काम गरेको र रेडियो उदयपुर सामुदायिक रुपमा संचालन गरेर उदयपुरको महिलाहरुको सक्रियता र मेहनतको प्रतिफल इतिहासमा लेखिने बताइन् ।
उपसभामुख दनुवारले महिलाहरुद्धारा मात्र सञ्चालित यस्ता संस्था साह्रै न्यून रुपमा रहेको र उदयपुरमा यसरी महिलाहरुले संस्था मार्फत रेडियो संचालन गर्नु सह्रानीय कुरा भएकोले आउँदा दिनहरुमा संस्थाले अझ सशक्तरुपले आफ्ना कार्यक्रमहरु लिएर आउने र महिलाहरुको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइन्।
यसैगरी त्रियुगा नगरपाकिाकी उपमेयर महेश्वरी राईले नेपालमा रहेका महिला अधिकारवादी संघसंस्थाहरु मध्ये यो संस्था पनि महत्त्वपूर्ण रहेको बताउदै महिलाहरुको हक अधिकार स्थापित गर्न कानुनी साक्षरता, चेतना मूलक कुरा तथा विभेदका कुरा लगायतका धेरै विषयमा रेडियो मार्फत र कार्यक्रम गरेर पनि महिलाहरुको सशक्तीकरणमा योगदान गरिरहेको बताइन ।
यसैगरी महिला पुन स्थापना केन्द्र ओरेककी अध्यक्ष सविता पोखरेलले नेपाली समाजमा महिलाहरुले धेरै प्रकारका समस्या भोग्नु परिरहेको अवस्थामा महिलाहरुलाई आफ्ना हक अधिकारका विषयमा सूचना तथा जानकारी दिएर सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिएर बोल्न सक्ने र अन्याय अत्यारका विरुद्धमा बोल्न सक्ने बनाउन महिला सशक्तीकरण श्रोत केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको बताइन । सो कार्यक्रममा ओरेक उदयपुरकी प्रमुख बाला कार्कि, गैर सरकारी संस्था महासंघकी अध्यक्ष सिर्जना पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तवय दिएका थिए ।
उनले रेडियो उदयपुरले महिला हक अधिकारका विषयमा विविध कार्यक्रम उत्पादन गरेर प्रसारण गर्ने गरेकोमा यस्ता कार्यक्रम सबै रेडियोहरुले उत्पादन गरेर प्रसारण गरेका समाजमा महिला हिंसा न्यूनिकरण गर्न सहज हुने बताइन ।
वनभोजसहित आयोजना गरिएको सो साधारण सभामा संस्थाकी सचिव जानुका कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाकी उपाध्यक्ष सुष्माले संस्थाको आय व्यय विवरण प्रस्तुत गरेकी थिइन ।
वार्षिक आर्थिक प्रतिवेदन अनुसार उक्त संस्थाले १ करोड २६ लाख ७ हजार ९१४ रुपैया आम्दानी गरेको र खर्च कटाएर ४० लाख ८३ हजार ६२८ रुपैया बाँकी बैंक मौज्दात रहेको विवरण प्रस्तुत गरिएको छ ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष र सदस्य तथा उदयपुर जिल्ला कमिटीको नव निर्वाचित पदाधिकारी, सदस्यहरु, प्रदेश पार्षद्, केन्द्रीय पार्षदहरुलाई स्वागत सम्मान र बधाई कार्यक्रम समेत राखिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।