काठमाडौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी चैत मसान्त भित्र संगठनको २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको अनेरास्ववियुको १२ औँ सचिवालय बैठकले सो निर्णय गरेको हो । त्यसको तयारीको लागि आगामी माघ ६ गतेदेखि ८ गतेसम्म केन्द्रीय कमिटीको चौथो बैठक राखिने भएको छ ।
संगठनले स्ववियु निर्वाचन तयारीको लागि पुस २५ र २६ गते कार्यशाला राख्ने निर्णय गरेको छ । कार्यशाला काठमाडौंमा हुँदै छ । कार्यशालामा देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षहरूको सहभागिता हुने संगठनले जनाएको छ । केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गरिने भएको छ ।
आजकै बैठकले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा फागुन १५ गते तयारी बैठक राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयले तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने तथा दबाब सिर्जना गरी निर्वाचन सफल बनाउन सर्वपक्षीय छलफलको आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव तथा अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्टद्वारा प्रस्तुत ३५ बुँदे विश्वविद्यालय सुधारको माग तत्काल पूरा गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको संगठनका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।