बुटवल
बिभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरूमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।
लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोष बिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहँदा प्रहरीले बल प्रयोग गरेको हो ।
मायादेवी मन्दिर भित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेश विपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्काबेला प्राप्त मूर्ति र अस्तुधातु लगायतका सामाग्री खोजीगरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका माग सहित विरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बाहिर निकालेको थियो । प्रदर्शनकारी महिलाहरुलाई चोटपटक लागेपछि आक्रोशित स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले कार्यालय घेराउ गर्न आएका महिलाहरूमाथि प्रहरीले दमन गरेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीले कुनै किसिमको बल प्रयोग नगरेको बताए । कार्यालय भित्र रहेका भीडलाई नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।