म्याग्दी।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित आठौं म्याग्दी महोत्सवमा स्थानीय उत्पादनहरुलाई निःशुल्क रुपमा स्टल दिइने भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा यही पुस २८ देखि माघ ८ गतेसम्म चल्ने म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ मा जिल्लाको उत्पादनहरु प्रदर्शन गर्न लागिएको हो ।
म्याग्दी जिल्लामा उत्पादन हुने वस्तुको बिक्री र प्रदर्शनी गर्न निःशुल्क स्टल दिइने महोत्सवको मूल आयाजक संस्था म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरु बिक्री, वितरण गर्नुका साथै प्रदर्शनी गरिने भएको छ । जिल्लामा उद्योग तथा व्यवसाय गरिररहेका व्यापारीहरुलाई स्टलमा पहिलो प्राथमिकता दिइएको म्याग्दी महोत्सवका मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र उत्पादन भएका स्थानीय उत्पादन र वस्तुहरुको बिक्री, वितरण गर्नको लागि स्टलहरु निःशुल्क रुपमा उपलब्ध गराइनेछ । यसपटकको महोत्सवमा सबै प्रकारको व्यापारमा स्थानीयलाई पहिलो प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकलालगायत साना तथा मझौला उद्यमीहरुले निर्माण गरेका सामग्रीहरुको बिक्री तथा प्रदर्शनीका साथै उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालनका क्षेत्रको सम्भावनाहरु उजागर गरी लगानी भिœयाउन तथा व्यापार प्रर्वद्धन गर्ने उद्देश्यलाई केन्द्रित गरी महोत्सवको तयारी अगाडि बढाइएको संघका महासचिव नारायण जिसीले जानकारी दिए । महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रहरुको व्यापक रुपमा प्रचारप्रसार गर्ने तयारी भैरहेको र विश्वभर विभिन्न क्षेत्रबाट चिनिएका व्यक्तिहरुलाई समेत सम्मान गर्ने कार्यक्रम बनाइएको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा हेलिकप्टरमार्फत जिल्लाको विभिन्न क्षेत्रको अवलोकनका लागि पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरुमा भ्रमण गराइने भएको छ । महोत्सवमा खुल्ला लोक तथा दोहोरीगीत, गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष तथा महिला भलिबल, प्रदेश भित्रको वडास्तरीय बास्केटबल, खुल्ला रत्यौली, भजन, पुख्र्यौली नाच, म्याग्दी आईडल एकल लोकनृत्य प्रतियोगिता र विभिन्न जातजातिहरुको झाँकी प्रदर्शनी गरिनेछ । यसैगरी महिला-पुरुष छेलो फ्याँक्ने, लठो तान्ने प्रतियोगिता पनि सञ्चालन हुनेछ ।
महोत्सवका लागि कुल एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौसय १४ रुपैयाँ खर्च हुने बजेट प्रस्ताव गरिएको छ । महोत्सवबाट म्याग्दी उद्योग वाणिज्य संघलाई पाँचलाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ भने महोत्सव अवधिभरमा म्याग्दी क्षेत्रभित्र झण्डै १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ । म्याग्दी महोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ३७ वटा उपसमितिहरु गठन गरी आवश्यक तयारी तीव्र बनाइएको संघका महासचिव जिसीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।