काठमाडौं ।
नयाँबजारस्थित ह्वाइटफिल्ड स्कुलले पौष ५ देखि ११ गतेसम्म आयोजना गरेको उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगीता सम्पन्न भएको छ ।
आज पौष ११ गते भएको कक्षा ९ सम्मका (जुनियर) विद्यार्थी तर्फको फाइनल प्रतियोगीतामा कीर्तिपुरको मेगस स्कूलले ४२-२९ को अन्तरमा रेडियन्ट पव्लिक स्कुल नागर्जुनलाई पराजित गरी प्रथम हुन सफल भयो भने रेडियन्ट स्कुलले दोस्रो स्थान हासिल गर्यो । यस तहमा मेगस स्कूल कीर्तिपुरका सिमोन रामजाली सर्वोत्कृष्ट खेलाडी घाेषित भएका छन् ।
त्यसै गरी कक्षा १२ सम्मका (सिनियर) विद्यार्थी तर्फको फाइनलमा कालो पुल स्थित जेभियर इन्टरनेसन कलेजले २०-१७ को अन्तरमा पुरानो बानेश्वर स्थित गोल्डेन गेट कलेजलाई पराजित गरी प्रथम हुन सफल भयो भने गोल्डेन गेटले दोस्रो स्थानमा चित्त बुझायो । यस तहमा जेभियर इन्टरनेसन कलेजका ऋदुस केसी सर्वोत्कृष्ट खेलाडी घाेषित भए ।
गत सुक्रबारदेखि सञ्चालित यस प्रतियोगीता ५-५ (कक्षा ९ सम्मका विद्यार्थी) र ३-३ (कक्षा ११ र १२ सम्मका विद्यार्थी) गरी २ तहमा विभाजित थियो । लिग कम नकआउट आधारमा खेलाइएको प्रतियोगीताको दुबै तहमा १२-१२ टिमको सहभागिता रहेको थियो । आजै सम्पन्न भएको प्रतियोगीताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा ह्वाइटफिल्ड स्कुलका विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए भने उपस्थित अतिथिहरुलाई विद्यालयका प्रिन्सपल पारस श्रेष्ठले स्वागत गर्दै व्यक्ति स्वस्थ रहन सकेमा मात्र समाज स्वस्थ हुन सक्ने तर्क राख्दै जिबन, समुदाय र समग्र देशको लागि खेलकुद अति महत्वपूर्ण भएको बताउनुभयो ।
साथै यस्ता प्रतियोगीताबाट विद्यालयहरु बिचको भावनात्मक सम्बन्ध सुमधुर बनाई, विद्यार्थीहरुमा खेलप्रतिको जागरुकता वृद्धि गर्नुका साथै आपसी मेलमिलाप र एकताको भावना जागृत भएको बिचार व्यक्त गर्नुभयो । उहाँले सहभागी सम्पूर्ण विद्यालयहरुलाई आभार सहित विजयी विद्यालय र विद्यार्थी हरुलाई बधाई ज्ञापन गर्नुभयो । यस समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ क्षेत्र न. ८ का प्रतिनिधि सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ लगायत अन्य अतिथिबाट विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।
यस कार्यक्रममा बोल्दै उहाँले देश विकासको लागी राजनीतिक स्थायीत्व र पारदर्शिता अहिलेको आवश्यकता उल्लेख गर्दै खेलकुदको विकाशको लागि आफू निरन्तर लागीरहने प्रतिबद्दता व्यक्त गर्नुभयो । यस्तै प्रतियोगीता आगामी वर्षहरुमा अझ व्यापकता साथ निरन्रता दिइने जानकारी समापन कार्यक्रमका सञ्चालक तथा विद्यालयका संयोजक राममणी बगालेले दिनुभयो भने कार्यक्रमको समापन विद्यालयका संस्थापक प्रिन्सिपल दुर्गा श्रेष्ठले गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।