काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरुलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् ।
काठमाडौंमा बिहीबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनिकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले विपद जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताए ।
“मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्ट्रिकोणले विविधतायुक्त देश हो, यहाँको भु–भाग, जलबायु र वातावरणीय संरचनाले गर्दा हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपदको सम्भावना धेरै छ ।” उनले भने–“ विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।”
उनले संघदेखि स्थानीय तहका वडास्तरसम्म विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाई छ । मुलुक विपद् जोखिमको पनि उच्च जोखिममा रहेको भन्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्नेमा जोड समेत दिए ।
“ देशभरका बहु–क्षेत्रीय र बहु–आयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन आफैमा महत्वपुर्ण रहनेमा विश्वस्त छु ।” उनले भने–“ नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिमका लागि संसारकै उच्च संवेदनशील मुलुकहरूमध्ये एक हो ।
हिमाल, पहाड, र तराई जस्ता विविध भूगोलले भरिएको छ, जसले हामीलाई प्राकृतिक सम्पदामा धनी बनाए पनि जोखिमको दृष्टिकोणले निकै संवेदनशील बनाएको ईतिहाँस छ ।” उनले जलवायु परिवर्तनका कारण पछिल्ला बर्षहरुमा उल्लेख्य बृद्धि भएका बाढी, पहिरो, चट्याङ, र अन्य जलवायुजन्य विपद् झन् जटिल हुँदै गएको बताए ।
“ विपद्हरूले हामीलाई जलवायु परिवर्तनका चुनौतीहरू प्रति थप संवेदनशील बनाएकोछ ।” उनले भने –“ विपद् व्यवस्थापनका लागि हाम्रो दृष्टिकोण बहुआयामिक र वैज्ञानिक हुनु आवश्यक छ ।”
गृहमन्त्री लेखकले समुदायमा आधारित दृष्ट्रिकोण,विपद जोखिम न्यूनिकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
“ स्थानीय तहमा विपद व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्वि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ ।” उनले भने –“ प्रकोप व्यवस्थापन सम्वन्धी नीति तथा ऐनलाई बलियो बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ ।”
प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ गर्दै विपदबाट हुने क्षति न्युन गर्न सकिने उनको भनाइ छ । नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारहरूमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।