अछाम ।
जिल्लाको पूर्वी क्षेत्रमा रहेको कमलबजार विमानस्थलमा सफल परीक्षण उडान भएको छ । नेपालगंज देखी तारा एयरको ९ एन-एईभी विमानले कमलबजारमा सफल परीक्षण उडान गरेको हो ।
पहिलो पटक २०६५ सालमा नेपाल एयरले परीक्षण उडान गरेको कमलबजार विमानस्थलमा तारा एयरले दोस्रो परीक्षण उड़ान गॅरेको हो । पहिलो पटक परीक्षण उड़ान हुदा धावन मार्ग ग्राबेल गरिएको थिएन ।
यस उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए भने परीक्षण उडानमा क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू जहाजमा सवार थिए।
आर्थिक वर्ष २०८०/०८१ मा नागरीक उड्यन प्राधिकरणको १ करोड ३५ लाख बजेटले विमानस्थलको धावनमार्ग ग्राभेल गरिएपछि परीक्षण उडान गरिएको हो ।
कमलबजार विमानस्थलको परीक्षण उडान सफल भएपछि निरन्तरताका लागि पहल गरिने नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताए । नियमित उड़ान हुनसके यस क्षेत्रको यातायात सुविधा सहज हुने विश्वास गरिएको छ ।
परीक्षण उडान सफल भएपछि स्थानीयवासीले यसलाई आफ्नो दशकौं लामो सपना साकार भएको बताएका छन् । जिल्लाका लागि ऐतिहासिक दिन भएको भन्दै आफूहरू हवाई यातायातको पहुँचमा आउनेमा स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
परीक्षण उडानको लागी धावन मार्ग तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए ।
कमलबजार विमानस्थलको निर्माणका लागि २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागत इस्टिमेट भई २०४९ सालमा निर्माण सुरु गरिएको थियो।तत्कालिन समयमा २ करोड ५० लाख खर्च भएको थियो ।
तर २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द भएको थियो ।
माओवादीले रिपिटर टावर भत्काएपछि परीक्षण उडान समेत सम्भव नभई विमानस्थल सञ्चालनमा आउन सकेन । विमानस्थल सञ्चालन नहुदा स्थानीयले गाईबस्तु चराउने, पार्टीका कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग हुदै आएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।