काठमाडौं ।
भृकुटी मण्डपमा नेपालका प्रतिष्ठित उद्योगहरूबाट उत्पादित नेपाली ब्रान्डका जुत्ताको ‘बम्पर सेल मेला’ सुरु भएको छ। नेपाली उत्पादनलाई प्रोत्साहित र प्रवर्द्धन गर्दै उपभोक्तालाई एकै छानाबाट विभिन्न डिजाइनका जुत्ता–चप्पलहरू सस्तो दरमा उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको हो।
यही पुस ९ बाट सुरु भएको उक्त मेला माघ १० सम्म सञ्चालनमा रहने भएकाले मेलामा ग्राहकहरूको रोजाइअनुसार पचास प्रतिशत सम्म छुटमा विभिन्न डिजाइनका जुत्ता–चप्पलहरू पाइने आयोजक मध्यका एक डिल्ली सुवेदीले जानकारी दिए। यो मेलामा ५ हजार प्रकारमा जुत्ता–चप्पलहरू राखिएको बताइएको छ । ‘मेलामा आएका हरेक खरिदकर्तालाई १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ’,सुवेदीले भने।
यस वर्षको जाडो मौसमलाई ख्याल गरेर स्पोर्टस तथा छालाका आकर्षक, गुणस्तरीय र टिकाउ किसिमका जुत्ता–चप्पलहरू उपलब्ध गराइँदै आएको बम्पर मेला आयोजक समितिले जनाएको छ । अघिल्ला मेलाहरूमा भन्दा यस पटक विशेष नेपाली उत्पादनलाई नै जोड दिएको अर्का आयोजक वासु रोकाले जानकारी दिए।
नेपाली बजारमा अहिले ८० प्रतिशत नेपाली ब्रान्डले नै धानेको उनको अनुभव छ। नेपाली र विदेशी कच्चा सामग्रीको प्रयोग गरी नेपाली उद्योगहरूबाटै निर्माण गरिएका सबै डिजाइनका जुत्ता–चप्पलहरू मेलामा राखिएको छ।
यस मेलामा १० वटा कम्पनीको प्रत्यक्ष संलग्न रहेको र कम्तीमा ३५ वटा कम्पनीले उत्पादन गरेका सामानहरू मेलामा राखेर उपभोक्तालाई छनोटमा सहज गराइएको रोकाको दाबी छ। नेपालमा नेपाली उत्पादनले राम्रो बजार लिए पनि छिमेकी मुलुक भारतसँगको खुला सिमानाका कारण चोरी पैठारी गरी भन्सार छलीमा भित्रिएका जुत्ता–चप्पलहरू सस्तोमा बिक्री वितरण हुने गरेकाले नेपाली उद्योगमाथि केही समस्याहरू रहेको बताइएको छ।
जुत्ता–चप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने यो व्यवसायलाई संरक्षण प्रवर्द्धन र विस्तार गर्न राज्यले स्वदेशी उद्योग र उद्यमीलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराइनुपर्ने व्यवसायीहरूको माग छ । त्यसो भएमा नेपाली उत्पादनहरू उपभोक्तालाई अझै सस्तो मूल्यमा उपलब्ध गराउन सकिने उनीहरूको दाबी छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।