दोलखा ।
दोलखाको विगु गाउँपालिकामा आन्तरीक द्वन्द्वले कार्यपालिका बैठक बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृत समेत लामो समयदेखी नभएकाले विकास– निर्माणसँग सम्बन्धित कामको भुक्तानीमा समस्या भएको, दीर्घ रोगीहरुलाई औषधि वितरणमा समस्या देखिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले तत्काल समाधान खोज्न पालिकासँग माग गरेका छन् ।
उनीहरुले आगामी पुष २४ गतेभित्र कार्यपालिकाको बैठक बोलाई पुष मसान्तसम्म हिउँदे गाँउ अधिवेशन सम्पन्न गरी पालिकामा देखिएका समस्याहरु समाधानमा पहल गर्न आग्रह गरेका छन् । समस्या समाधानमा पालिकाले चासो नदिए माघ– १ गतेबाट आठवटै वडा अध्यक्षहरुले वडा कार्यालयबाट दिदै आएको सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
विगु गाँउपालिकाका बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा जिल्लाको उत्तरी केन्द्र सिंगटीमा भएको पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य एवम् प्रवक्ता लोकबहादुर नेपालीले २०८१÷०८२ को गाँउसभा सकिए यता गाँउ कार्यपालिकाको नियमीत बैठक बस्न नसकेको बताए ।
गाउँ कार्यपालिकाको नियमित बैठक नभएकै कारण आर्थिक बर्ष २०८०÷०८१ मा वडा तथा पालिकाको योजनाको काम सम्पन्न भै आर्थिक बर्षको अन्तमा भुक्तानि हुनुपर्ने तीन करोड ५० लाख भन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको पालिका प्रवक्ता एवम् कार्यपालिका सदस्य नेपालीले बताए ।
नियमित कार्यपालिका बैठक नभएको र प्रमुख प्रशासकीय अधिकृत लामोसमय देखी नरहेकैले पालिकाका नियमति औषधि सेवन गर्नुपर्ने दीर्घरोगी तथा विपन्न विरामीहरुका लागि औषधि तथा आर्थिक सहयोग समेत दिन नसकिएको प्रवक्ता नेपालीले बताए ।
विगु गाउँपालिकामा नियमति औषधि सेवन गर्ने दीर्घ रोगी दुई सय ७० जना रहेको र उनीहरुलाई उपलब्ध गराउनु पर्ने ६० प्रतिशत औषधि अभाव रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख रत्नबहादुर थामीले बताए । बजेट अभावकै कारण औषधि उपचार बापत १० देखि २५ हजारसम्म उपलब्ध गराउनु पर्ने २३ जना विपन्न विरामीलाई समेत आर्थिक सहयोग उपलब्ध गराउन नसकिएको तथा मासिक ५ हजार उपलब्ध गराउनु पर्ने किड्नी ट्रान्सप्लान्ट गरेका, डाईलसिस गराई रहेका, स्पाईनल इन्जुरी भएका र क्यान्सरका विरामी गरी ४५ जनालाई पनि आर्थिक सहयोग गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए ।
विगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली बिभिन्न कारणले पालिका अहिले समस्यामा रहेको स्वीकार गर्दै त्यसको लागि राजनीतिक दल, संघिय सरकार लगायत सबैनै जिम्मेवार रहेको बताए । गाउँ कार्यपालिका बैठक लामो समय देखी नभएको तर त्यसको लागि आफु जिम्मेवार नरहेको पालिका अध्यक्ष ओलीको भनाई छ ।
आफुले बैठक राख्न खोज्दा केही राजनीतिक दलले वडा अध्यक्षहरु लाई बैठकमा नजानु भन्दै निर्देशन दिने गरेकोले नियमित बैठकमा समस्या भएको पालिका अध्यक्ष ओली बताउछन् । केहीले आफु र उपाध्यक्ष बीच असमझदारी रहेको हल्ला चलाएपनि त्यसमा सत्यता नभएको अध्यक्ष ओलीको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृतको समस्या देशभरीका दुई सय भन्दा बढी पालिकामा रहेकोले त्यसको समाधान संघिय सरकारले गर्नुपर्ने उनको भनाई छ । पालिकामा देखिएको समस्या समाधानको लागि आफुले सबैसंग सल्लाह गरेर अघि बढ्ने अध्यक्ष ओलीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।