कास्की ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई शिक्षा नीतिसँग जोडेर पुनर्संरचना गरिनुपर्नेमा सरोकारवाला विज्ञहरूले सुझाउ दिएका छन् । उनीहरुले नास्टलाई स्वायत्त र राजनीतिक हस्तक्षेपविहीन संस्थाका रूपमा विकास गर्न जोड समेत दिए ।
नास्टले वुधबार पोखरामा आयोजना गरेको नास्टको पुनर्संरचना सम्बन्धमा राय सुझावको लागि विज्ञहरूसँगको अन्तरक्रियात्मक गोष्ठीमा सहभागी सरोकारवाला विज्ञहरूले नास्टले चार दशक यात्रा पार गर्दा पनि अपेक्षाकृत सफलताका हासिल गर्न नसक्नुका कारणहरूको समेत खोजी हुनु आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा नास्टका प्रवक्ता डा सुरेश कुमार ढुंगेलले “नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठाको पुनर्संरचना तथा थप संस्थागत विकास” विषयमा तयार पारेको मस्यौदा प्रस्तुत गर्दै अवको नास्ट अनुसन्धान विश्वविद्यालयसहितको विषयगत संरचनाका विकास गर्नुपर्ने धारणा राखेका थिए ।
उनले संविधानले निर्दिष्ट गरेको संघ र प्रदेशको साझा अधिकार अनुसार वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संशाधन समेतको पुनर्संरचना हुुनुपर्ने खाका सार्वजनिक गरे ।
उनले प्रस्तुत गरेको खाकामाथि टिप्पणी गर्दै विज्ञहरूले नास्टलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने, विभिन्न विश्वविद्यालयको सहकार्यमा एकाडेमी डिग्री तथा विद्यावारिधिको उपाधि दिनुपर्ने प्रावधान राखिनुपर्ने, नास्टको अनुसन्धानलाई समेत सरोकारवाला विश्वविद्यालयसँग जोड्नुपर्ने, अनुन्धान गर्ने वैज्ञानिकहरुलाई दिइने अनुदानमा वृद्धि गर्नुपर्ने, करिअरको खोजीमा विदेश भासिने वैज्ञानिकहरुलाई नेपालमै बस्न सक्ने वातावरण बनाउनुपर्ने, जलवायुको परिवर्तनबाट भएका असरबारे थप अनुसन्धान गरी हिमालमा हिउँ पग्लने, पानीका स्रोत सुक्दै जाने जस्ता समस्या तथा कुनै विपत्तिबाट बच्ने पूर्वसूचना प्राप्त गर्ने संयन्त्रको विकास गर्न, प्रस्तावित अनुसन्धान विश्वविद्यालयको औचित्यता पुष्टि गर्नुपर्ने, आविष्कारका कामहरू देखिने गरी हुन सकेकोले तयसतर्फ जोड दिनुपर्ने लगायतका सुझाउ दिएका थिए ।
कार्यक्रममा बोल्दै नास्टका उपकुलपति प्रा।डा। दिलीप सुब्बाले नास्टको पुनर्संरचनाका लागि नास्ट स्वयं निर्णायक तहमा नरहेकाले छलफलमा प्राप्त सुझाउहरू निर्णायक तहमा पेश गर्ने जानकारी दिए । उनले विज्ञ तथा वैज्ञानिकहरूले गरेको अनुसन्धान एवं आविष्कारको उत्प्रेरणा जगाउन सहयोग गर्ने र समुदायमा सम्प्रेषण गराउने काम भइरहेको बताए ।
नास्टका सचिव डा रवीन्द्रप्रसाद ढकालले नास्टमा वार्षिक ५० करोड बजेट प्राप्त हुने र त्यसको ७० प्रतिशत प्रशासनिक कार्य र भवन निर्माण तथा बाँकी ३० प्रतिशत अनुसन्धान र आविष्कारका क्षेत्रमा लगानी हुने गरेको जानकारी दिए ।
नास्ट पुनर्संरचना गर्न गठित कार्यदल समितिका सदस्य एवं बाग्मती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोट, पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा दीपक बहादुर भण्डारी, गण्डकी विश्वविद्यालयका उपकुलपति डा नवराज देवकोटाले नास्टलाई स्वायत्त संस्थाका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।