बुटवल।
दिन र रात नभनी दुख गरेर उत्पादन गरेको दूध बजारमा बिक्री नहुँदा रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीकी लिलादेवि ज्ञवाली निकै चिन्तित भएकी छन । दूध उत्पादनका लागि गरिएको लगानी पनि दूध विक्री नहुँदा तिर्न कठिन भएको ज्ञवालीले सुनाइन् । ज्ञवालीकै जस्तै सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आबद्ध ४०९ जना किसानको गुनासो एकैप्रकृतिको रहेको छ । शुक्रवार सैनामैनाको वडा नंं १० मा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरी किसानहरुले भोग्नुपरेको समस्याका विषयमा जानकारी गराएको होे ।
भारतबाट आउने खुला दूधका कारण किसानहरुले उत्पादन गरेको दूध विक्री नभएको र प्रशासनले सीमानाकामा चोरी तस्करीमा कडाई गर्न नसक्दा नेपाली किसानले उत्पादन गरेको दूधले बजार पाउन समस्या भएको गुनासो गरेका छन् । नेपाल भारत खुला सीमाका कारण भारतबाट सस्तो दूध बुटवल लगायतका बजारमा आउँदा आफूहरुले उत्पादन गरेको दूध विक्री तथा बजारीकरणमा समस्या भएको किसानहरुको गुनासो छ ।
सहकारीका अध्यक्ष तिलकराम घिमिरेले भारतबाट आउने सस्तो गुणस्तर नभएको दूध बजारमा आउँदा नेपाली दूध उत्पादक किसान मर्कामा परेको खुलासा गरे । उनले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० देखि किसानले पाउने प्रतिलिटर दुई रुपैयाँ अनुदान रकम समेत काटेको बताउँदै सैनामैना नगरपालिकाले समेत दिने अनुदान अत्यन्त कम भएको गुनासो गरे ।
उनले आफूहरूको सहकारीबाट दैनिक ४ हजार ५ सय लिटर दूध उत्पादन हुदै आएकोमा विक्रीमा समस्या आएकोले किसानबाट थप दूध किन्न नसकिएको बताए ।
त्यसैगरी कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष टिकाराम पाण्डेले दुग्ध उत्पादक किसानको समस्या बर्षौंदेखि यथावत रहेको बताउँदै अहिलेसम्म कुनैपनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले नेपाल भारत खुला सीमाका कारण भारतीय दूध नेपाली बजारमा आउँदा नेपाली दूध उत्पादक किसानलाई समस्या परेको बताए ।
उनले सैनामैना नगरपालिकाले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिएपनि त्यो प्रभावकारी नभएकोले आगामी दिनमा अनुदान बढाउन प्रयास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा किसानहरुको पहिचानका लागि किसान कार्ड लागु गर्न किसानहरुले माग गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।