कास्की ।
पोखरामा ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने, नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।
समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।
‘कति मान्छे आए, कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । की मनोरञ्जन मेला भन्नुपर्यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हेर्यौं। हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’
मुख्यमन्त्रीको भने, ‘हामीले केही कुरा गर्नुछ, गण्डकीलाई प्रमोट गर्नका लागि । भर्खरै कोरला नाका सुचारु भएको छ । त्यहाँ एउटा अध्यागमन कार्यालय पनि सुरुवात भएका छ तर पूर्ण रुपले संचालन गर्न सकिएको छैन । त्यसलाई पूर्ण रुपले संचालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटोलाई गुणस्तरीय सडक बनाएर संचालन गर्न सक्यौँ भने यो गण्डकी प्रदेशको व्यापारमा ठूलो फाइदा गर्छ भन्ने लाग्छ । हुन त, त्यो अध्यागमन कार्यालय हामीले संचालन गर्ने हैन । तर,अघिल्लोपटक म त्यहाँ जाँदा केही पनि थिएन । म जाँदा हावाहुरी चलेको,पानी परेको थियो । त्यहाँ जाँदा आपत पर्दा आश्रय लिने ठाउँ पनि थिएन । हावाहुरी आउँदा बस्ने ठाउँ पनि थिएन । त्यही देखेर मैले त्यहाँ एउटा अस्थायी भवन बनाउनुपर्छ भनेर बनाएको हो ।’
त्यहाँ हामीले भौतिक संरचना बनाउन पनि सक्दैनौँ अनि अध्यागमन कार्यालय निर्माणको अधिकार हाम्रो पनि हैन । म जाँदा आपतकालीन भनेर बनाएको भवनमा अध्यागमन कार्यालय चलेको छ । त्यहाँ स्थायी संरचना बनाउनुपर्छ । कुरा चलेको छ । त्यो बन्यो भने तिब्बतसँगको ठूलो व्यापार यतैबाट हुनसक्छ ।
पाण्डेले भने, ‘मैले चिनियाँ मित्रहरुसँगको भेटमा भनेको छु । अहिले भारतीयको लागि मानसरोवरको यात्रा खुलेको छ । पहिला बन्द थियो । जो भारतीय वा नेपाली धार्मिक यात्रु मानसरोवर जान चाहन्छन् । उनीहरुलाई यो बाटोबाट पठाउनुपर्छ । यो नै छोटो बाटो हो । यसलाई प्रमोट गर्नुपर्छ भनेर लागिरहेको अवस्था छ ।’
दक्षिणतर्फको त्रिवेणी नाका संचालनमा छ । तर, बीचमा राष्ट्रिय निकुञ्जको बफर जोन परेकाले हामीले ८ किलोमिटर बाटो बनाउन पाएका छैनौँ । हामीले पटक–पटक लेखेर राष्ट्रिय समन्वय परिषदको बैटकका राष्ट्रिय समस्या समाधान समितिको बैठकमा यो समस्यालाई अवगत गराउँदै आएका छौँ । अहिले हामीले इआइए गर्ने अनुमति पाएका छौँ, त्यो बाटोको लागि । हामी छिट्टै गर्छौँ पनि । तर, मलाई डर लागेको छ । अस्ति भर्खर हालसालै सर्वोच्च अदालतले सरकारले बनाएको कानून खारेज गरेको छ । त्यो कानूनमा आरक्षित र राष्ट्रिय निकुञ्जभित्र संरचना निर्माण गर्ने गरी अध्यादेशमार्फत बाटो खोलिएको थियो । अहिले खारेज भएपछि कतै रोकिन्छ कि भन्ने लागेको छ । तर, हामी खोल्नेतर्फ लागेका छौँ । एउटै पालिकाको मान्छे,त्यही पालिकाको केन्द्रमा आउँदा अर्को प्रदेशको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । त्यो बाटो खोल्न सकियो भने यो प्रदेशको आर्थिक विकास हुन्छ भन्ने मलाई लागेको छ, पाण्डेले भने ।
अहिले भर्खर संघीय सरकारले एउटा अध्यादेश आएको छ । अध्यादेशबाट क़ानून बनाउनु राम्रो कुरा हैन तर ल्याउन नपाइने चाहिँ हैन । किनकि ,ल्याउने आवश्यकता वोध भएकाले नै संविधानमा व्यवस्था भएको हो । कुन र कस्तो अवस्थामा ल्याउने भन्ने सरकारको कुरा हो । अहिले जुन प्रयोजनको लागि सरकारले अध्यादेश ल्याएको छ, त्यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ।
कानून बनाउने प्रक्रिया झन्झटिलो भएको गएको छ । एउटा कानून बनाउन २/३ वर्ष लाग्ने भएको छ । हाम्रो पार्लियामेण्टमा त्यस्तो व्यवस्था छ । त्यसो त यो काम राजनीतिज्ञकै हो । कानून बनाउने क्रममा विषयगत समितिमा गएको विधेयक कति दिनमा पारित गर्नुपर्ने भन्ने व्यवस्था हुनुपर्ने हो । हाउसमा गएपछि वर्षौंसम्म पनि कानून बनेर नफर्कने भएकाले अध्यादेश ल्याउने बाध्यता परेकोले सरकारले अध्यादेश ल्याएको हो ।
अहिले नेपालको लागि चुनौती देखिएको छ । हामी माछापुछ्रेको अगाडि उभिएर बोलिरहेका छौँ तर माछापुच्छ्रेमा हामी कहीँ हिउँ देख्दैनौँ । पूरै क्लाइमेट चेन्जको असर परिरहेको छ । हामीले नगरेको गल्तिको दोषी वा सजाय हामीले भोग्नुपरेको छ । ठूला विकसित देशले गरेका गल्तिका कारण विश्वको तापक्रम बढ्दै गएको छ ।त्यसको असर यहाँ परेको छ । हिमताल सुक्ने, हिमनदीहरु सुक्ने र हिमालमा हिउँ नदिने अवस्था आएको छ । अझ डरलाग्दो कुरा त के छ भने जसले यो गल्ती गरिरहेका छन् । तापक्रम बढ्न नदिन, क्लाइमेट चेञ्जबाट परेको असर रोक्नको लागि जसले यो गल्ती गरेका छन्, तापक्रमलाई बढ्न नदिन, वातावरण सन्तुलन कायम गराउनको लागि र त्यसउनीहरुले केही रकम दिनुपर्ने गरी पेरिस सम्झौता भएको थियो । त्यसमा सबैभन्दा बढी अमेरिकाले केही रकम दिनुपर्ने थियो । हामीले अस्ति भर्खर सुन्यौँ, अमेरिकामा नयाँ प्रेसिडेन्ट आएपछि त्यो सम्झौताबाट अलग्निे घोषणा गरेका छन् । यो हाम्रो लागि डरलाग्दो छ ।
गण्डकी प्रदेशमा पहुँचको आधारमा अनुदान लगिरहेका छन् । म गण्डकी प्रदेशको मुख्यमन्त्री आएपछि मैले अनुदानलाई उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाएको छु । उत्पादन प्रक्रिया सुरु भएपछिमात्र अनुदान सुरु हुन्छ । तपाईं कुनै तरकारी खेती गर्दै हुनुहुन्छ भने,खेत जोतेपछि अनुदान सुरु हुन्छ । बिरुवा किनेपछि अनुदान सुरु हुन्छ । पशुपालन गर्न चाहुनुहुन्छ भने,बाख्रा पाल्न चाहनुहुन्छ भने खोर बनाइसकेपछि लागतमा अनुदान हुन्छ । बोका–बाख्रा किनेपछि अनुदान दिन्छौँ । दुग्धपहिला अनुदान लाने अनि बाख्रा पाल्छु भनेर पाइँदैन ।
हिजो त्यस्तो थियो । कि पहुँचकै भरमा अनुदान लैजाने एउटै बाख्राको खोर पाँच जनाले देखाउने, दुईवटा भैंसीको फोटो १० जनाले देखाउने र अनुदान लिएर जाने,आफ्ना पार्टीका कार्यकर्तालाई दिने, नजिकलाई दिने पहुँच हुनेलाई दिने । म आएपछि बन्द गरेको छु । अब पहिला पैसा ले अनि म काम गर्छु भनेर पाइँदैन । उत्पादनको आधारमा अनुदान दिने हो, तपाईंहरुसँगै जाने हो । हामीले कुन प्रक्रियाले अनुदान दिने भन्ने सोचेका छौँ ।
गण्डकी प्रदेश पर्यटनकै क्षेत्र हो साथसाथै कृषि र उद्योगलाई पनि कसरी अगाडि बढाउने भन्नेमा छ । कम्तिमा एउटा क्षेत्रमा कम्तिमा दुई वर्षमा आत्मनिर्भर हुनुपर्छ । सके गण्डकीले बेचोस्,किनेर नखाओस् । तरकारी उत्पादनमा हुन्छ कि, मासुमा हुन्छ कि, फलफूलमा हुन्छ कि, दुग्धजन्य पर्दाथमा हुन्छ कि । आत्मनिर्भर अर्थतन्त्र बनाउन हामी लागेका छौँ । हामीले दोस्रो पञ्चवर्षीय योजनामार्फत् आत्मनिर्भर अर्थतन्त्र निर्माणको योजना बनाएका छौँ । उद्योग क्षेत्रमा के हुनसक्छ ? रोजगारी पनि के हुनसक्छ ? त्यता निजी क्षेत्रले सोचोस् । गण्डकी सरकारले बनाएका नीति बाधक छ भने म कानून संशोधन गर्न तयार छु । अब यस्तो हुनुपथ्र्यो वा भइदिए हुन्थ्यो नभनौँ । के हुनुपर्छ भनेर आउनुहोस् । भेग कुरा नगरौँ । म संघको कानून चेञ्ज गर्न सक्दिन तर प्रदेशको कानून यस्तो हुनुपर्छ भन्नुहोस्,त्यो कुरा गर्न सरकार तयार छ । निजी क्षेत्रको लगानी बिना देशको अर्थतन्त्र उकास्न सकिँदैन । विदेशीको पैसा ल्याएर वा उसले लगानी गर्देला भनेर हुँदैन ।
पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा पोउवा संघले मेला आयोजना गरेको हो । मेलामा सातवटै प्रदेशका उत्पादनहरुको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । सूचना प्रविधिबारेको जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको भनाइ छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए ।
गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत् हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको पनि सुनाए ।
पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले नै मेला आयोजना गरेको बताए ।
उनले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य पं्राप्तिमा समर्पित रहेको पनि प्रष्ट पारे ।
अध्यक्ष कार्कीले सरकारले हालैमात्र अध्यादेशमार्फत् निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु संवोधन गरेको सरकारले नागरिकहरुले अपेक्षा गरेजस्तै आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको लागि काम गरोस् भन्ने नै हाम्रो चाहना रहेको सुनाए ।
‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन होस् भन्ने आम नागरिकको चाहना पनि संवोधन गर्नैपर्ने देखिएको छ । राजधानी कस्तो छ भन्ने कुराले त्यो देश वा प्रदेशको अवस्था झल्काउँछ । अन्तर्राष्ट्रिय पर्यटकीय सहरको रुपमा दर्ज भएको पोखरालाई समुन्नत, सुसम्भय र भोतिक रुपले अझ राम्रो बनाउनेतर्फ काम होस् भन्ने पनि हामीले चाहेका छौँ,’ उनले थपे ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । ‘हामी स्थिर सरकार चाहन्छौँ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ८० प्रतिशतको योगदान गर्ने निजी क्षेत्र प्रताडित भइरहेको छ, अहिले बजार सुस्ताएको छ,’उनले भने,‘ नेपाल र गण्डकी प्रदेश सरकारले अर्थतन्त्र उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुखदायी भएको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए । उत्पादन र उद्योगसँग जोडिएका मेलाहरु उद्योग वाणिज्य संघले नै आयोजना गरिनुपर्ने पनि उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग/व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए । उनले हवाइ मार्गबाट पनि पोखरालाई जोड्न चाहेको बताए । मधेश प्रदेशका मुख्यमन्त्री स्वयं गढीमाइ मेलाको चर्चा गर्दै भारतबाट आउने पर्यटकलाई पोखरासँग जोड्न लालायित भएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा मुख्यमन्त्री स्वयं आउन चाहेको पनि बताए । उद्घाटन सत्रमा मधेश प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।
क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् ।
‘अध्यादेशले नेपालमै स्थापित कम्पनीलाई पनि विश्वस्तरको बनाउने बाटो खुलेको छ । पहिले विदेशबाट विज्ञहरु ल्याएर काम गराउन गाह्रो थियो, स्वेट इक्विटी शेयरको पनि बाटो खुलेको छ,’अध्यक्ष पाण्डेले भनिन्,‘नेपालले एआइ भनौँ वा आइओटी (इन्टरनेट फर थिङ्स) भनौँ, त्यसबारे सिक्न बाँकी छ । अध्यादेशले नलेज र कल्चर एक्सचेञ्जको लागि बाटो खुलाएको छ,हामीले काम गर्नुपर्छ ।’
मेलाको समापन समारोहपछि सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएका थिए । सो उपक्रममा रोल्पा–पोखरा सम्पर्क समाजले आफ्नो परम्परागत भूमेनाच प्रस्तुत ग़र्यो । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिले पनि माहौल ततायो । समुद्घाटनअघि विभिन्न आमा समूह, विद्यार्थीहरु,सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले ¥याली र झाँकी पनि प्रस्तुत गरेका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । उनका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल,घनश्याम रिजाल, कमला गैरे, सविना गुरुङ सांगीतिक प्रस्तुति रहने उनले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।