१२ असोज , काठमाडौँ – आज बडादशैंको आठौँ दिन । आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आज अधिकाँश मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्ने गरिन्छ । पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरैंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।
देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिइन् । महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।
पूजापश्चात् बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ भने मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।