बुटवल ।
बुटवलको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटी शृङ्खला जारी राख्दै धरौटीमा रिहा गर्न रूपन्देही जिल्ला अदालतले आइतबार आदेश दिएको छ। थुनछेक बहसपछि जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो।
बुटवलको सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपियाँ बिगो मागदाबी गरिएको छ।
इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रूपन्देहीमा मुद्दा दर्ता भएको थियो। सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुटो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरणलगायतलाई आधार बनाउँदै सहकारी ठगीमा उनको संलग्नता पुष्टि हुने सरकारी वकिलले अभियोग पत्रमा जिकिर गरेको थियो। त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९ लाख रुपियाँ बिगो माग गरिएको छ।
लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ। सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए। यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यस्तै, स्वर्णलक्ष्मी सहकारीको वचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटी मागेको थियो।
सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतबाट हालसम्मकै सबैभन्दा धेरै धरौटी मागिएको हो।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार दिएको आदेशमा भनिएको छ, ‘…..मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु. एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू।’
हालसम्म धरौटी कहाँ कति ?
१. कास्कीमा ६५ लाख
२. काठमाडौंमा ६० लाख
३. रुपन्देहीमा १ करोड
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।