काठमाडौँ।
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले यो साता थप ६ जना इजरेली बन्धकलाई मुक्त गर्ने तथा इजरेलले गाजावासीलाई सोमवारदेखि आफ्नो घर रहेको उत्तरी क्षेत्रमा फर्कन दिने बताएका छन् ।
मुक्त हुने भनिएका बन्धकहरूमा इजरेल र हमासबीच विवादको केन्द्रमा रहेकी इजरेली नागरिक अर्बेल यहुद पनि रहेको बीबीसीको समाचारमा उल्लेख छ।
उनको विषयलाई लिएर दुई पक्षबीच मतभिन्नता देखिएपछि इजरेलले गाजावासीलाई उत्तरतर्फ जानबाट रोकिरहेको छ ।
हमासले शनिवार चार इजरेली सैनिकलाई मुक्त गरेको थियो। तर, उसले यहुदलाई मुक्त गरेन । इजरेलले हमासमाथि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ ।उक्त सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बदलामा इजरेली नागरिकलाई पहिले मुक्त गर्नुपर्ने थियो ।
युद्धविराम सम्झौता लागु भएदेखि हमासले सात जना बन्धकलाई रिहा गरेको छ। त्यस्तै इजरेली जेलबाट २०० जनाभन्दा बढी प्यालेस्टिनी बन्दीहरू मुक्त भएका छन् ।
युद्धविराम र बन्धक तथा बन्दीहरूलाई छाड्ने सम्झौता यही ज्यानुअरी १९ मा लागु भएको थियो । त्यसयता दुवै तर्फबाट दुई पटक बन्धक तथा बन्दीहरू मुक्त गरेर आदानप्रदान गर्ने कार्य भएका छन् । त्यस्तो तेस्रो आदानप्रदानमा हमासले यहुद र दुई अन्य बन्धकलाई हमासले शुक्रवार मुक्त गर्ने र शनिवार थप तीन जनालाई मुक्त गर्ने नेतन्याहू र कतार दुवैले बताएका छन् । कतारले युद्धविराम सम्झौताका लागि मध्यस्थता गरेको थियो । सोमवारदेखि इजरेलले प्यालेस्टिनीहरूलाई उत्तरतर्फ जान अनुमति दिने बताइएको छ । इजरेलले यो साताको अन्त्यमा थप प्यालेस्टिनी बन्दीलाई छाड्ने छ ।
विपिन जोशीको अवस्था के छ ?
करिब १,२०० मानिसहरू मारिने तथा २५१ जनालाई बन्धक बनाइने गरी सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरेलमा भएको आक्रमणपछि गाजामा जारी युद्ध पछिल्लो युद्धविराम सम्झौतापछि रोकिएको छ । गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली आक्रमणमा परेर हालसम्म ४७,२०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको जनाएको छ ।
हमासले गरेको अप्रत्याशित आक्रमणका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल गएका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस क्रममा बन्धक बनाइएकाहरूमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको बताइएको छ । तर उनी हालसम्म मुक्त भएका छैनन् भने उनको पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।
युद्धविराम सुरु भएपछि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने बन्धकमा जोशी पनि पर्ने आशा व्यक्त गरेका थिए । त्यस बेला पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरेली पक्षले आफूलाई दिएको बताएका थिए । –बीबीसी
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।