उदयपुर ।
उदयपुर जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पी.भी.) खोप दुई समुहमा विभाजन गरेर २० हजार १२२ जनालाई दिने तयारी स्वास्थ्य कार्यालय उदयपुरले गरेको छ ।
मंंगलबार स्वास्थ्य कार्यालय उदयपुरले आयोजना गरेको एच.पी.भी खोप अभियान २०८१, जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी तथा खोप सुपरभाइजर अधिकृत चिरञ्जीवी निरौलाले उदयपुरमा सञ्चालन गरिने खोप कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।
जिल्लाका ८ वटा पालिका मध्ये बेलका नपा, त्रियुगा नपा, रौतामाई गाउँपालिकार लिम्चुङबुङ गाउँपालिकामा माघ २३ गतेदेखि र चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, ताप्ली र उदयपुरगढी गाउँपालिकामा माघ २८ गदेदेखि लक्षित समुहमा खोप कार्यक्रम सञ्चालन गर्ने उक्त कार्यक्रममा जानकारी दिइएको छ ।
जिल्लाभित्रका जम्मा २८३ वटा विद्यालयमा ९२ वटा स्वास्थ्य संस्थाका सहभागितामा ३९६ वटा खोपकेन्द्र सञ्चालन गरेर कक्षा ६का ३ हजार ६सय ९ जना छात्राहरुलाई , कक्षा ७देखि १० सम्मका १३ हजार ४६ जना छात्राहरुलाई खोप दिने लक्ष्य रहेको जानकारी सूचना अधिकारी तथा खोप सुपरभाइजर निरौलाले दिनुभएको थियो ।
विद्यालय बाहिर रहेका १० वर्षसम्मका २सय २ जना किशोरीहरुलाई र ११ वर्षदेखि १४ वर्षसम्मका ३हजार २सय ६५ जनालाई समेत गरेर जम्मा लक्षित संख्या २० हजार १२२ जनालाई ४ सय ३ जना स्वास्थ्य कर्मी र ७ सय ९९जना स्वयम् सेवक खटाएर पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम संचालन गर्ने तयारी भैरहेको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माले जिल्लामा यस्तो कार्यक्रम संचालन गर्दा कार्यक्रमको प्रभावकारिता बढाउन र लक्षित समुदायसम्म लगेरसंचालन गर्न आवश्यक रहेकेो जानकारी दिँदै विगतमा वा परम्परागत रुपमा यस्तो उपचार पद्धती वा भनौँ भविष्यमा रोग लाग्न नदिन रोकथामको उपाय नहुँदा संकटपूर्ण जीवन यापन गर्न बाध्य भएका समाजमा आज प्रविधिको विकासले रोग लाग्नै नदिने प्रविधिको विकास गरेर प्रत्येक मानव समक्ष लैजान प्रयास गर्नु सम्पुर्ण मानव हितको र स्वास्थ्य सुरक्षा लगायतका कुरामा सरकार सजग भएको अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय उदयपुरका कार्यालय प्रमुख रामनरेश ठाकुरले उपस्थित सबैमा स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल सरकारको नीति र कार्यक्रम अनुसार यो खोप अभियान लक्षित समुहमा सञ्चालन गर्न लागिएको र यस अभियानले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउनुका साथै सबैमा चेतना फैलाउन र समयमै होशियार भएर उपचारमा लाग्न पनि मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, जिल्ला शिक्षा समन्वय इकाई कार्यालयका शाखा अधिकृत अर्जुन कार्की, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले मानव स्वास्थ्यसँग सरोकार राख्ने विषय भएकोले यसबाट हामी सबैले लाभ लिनुपर्ने र लक्षित वर्गसम्म यो कार्यक्रम पुग्नु आवश्यक रहेको बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।