ललितपुर।
हस्तकला ज्ञान र परम्परा शिक्षासंग नजोडिएकोले हस्तकलाको पुस्तान्तरमा समस्या देखिएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले शनिबार कनिबहालमा लोपोन्मुख हस्तकला पुस्तान्तरण समस्या विषयक अन्तरक्रियामा कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा लेखक देवेन्द्र थुम्केलीले हस्तकला व्यवसायीहरुले विविध चुनौती र समस्यासंग जुध्नुपरेको उल्लेख गर्दै त्यस विषयमा राज्यका तीन वटै संवेदनशील हुनुपर्ने खाँचो औल्याए । उनले हस्तकला अध्ययन गर्ने थलोको अभाव, विदेशी प्रविधि र सामानको आयात, आत्मसम्मान तथा प्रोत्साहनको कमी, व्यवसायी पलायन लगायतको समस्या भोग्नुपरिरहेको बताए।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्यले हस्तकला व्यवसायीहरुले भोग्नुपरिरहेको समस्याबारे महानगरपालिका गम्भीर भएको बताए।
सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकलाको विकासको सम्भावना र सामर्थ्यलाई राज्यले नजरअन्दाज गर्दै आएको बताए।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले हस्तकला क्षेत्रमा ठोस काम नहुनुमा राज्यसंगै व्यवसायीहरुको संगठन पनि जिम्मेवार रहेको बताए।
ललितपुर महानगरपालिका – १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले हस्तकलाको विकासको लागि महानगरपालिकाले ठोस काम गर्न नसकेको अवस्थामा वडाले मेला, महोत्सव, सम्मान कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। सो अवसरमा हस्तकला क्षेत्रमा कार्यरत ६० वर्ष नाघेका १५ जना महिलालाई सम्मान गरिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।