१४ असोज , काठमाडौँ – नेपालीहरूको महान् चाड बडादशैँको दशौँ दिन आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदैछ।
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
‘द्रोणपुत्र अस्वस्थामाको जस्तो आयु होस्, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस्। नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति’ होस भनी विजया दशमीमा आफूभन्दा मान्यजनहरुबाट टिका, जमराका साथमा आर्शिवाद लिने गरिन्छ।
दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । यो नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखि नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरि नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आजा र आराधाना गरिन्छ । विजयादशमिको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हाशिल गरेको उपलक्ष्यमारखुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरु लगाउने, आफ्नो क्ष्यमताअनुसार मिठो खाना खाने- ख्वाउने, घर आंगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।